गण्डकी

कांग्रेस महाधिवेशन

गण्डकीमा पौडेल पक्षको दबदबा

गोरखा, पर्वत र म्याग्दीमा देउवा पक्षका उम्‍मेद्वार निर्वाचित

अनिष भट्टराई |
असोज १०, २०७८ आइतबार १९:३७ बजे

फाइल फोटो

पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गण्डकीका स्थानीय तहमा संस्थापन पक्षको उपस्थिति कमजोर देखिएको छ । निर्वाचन सम्पन्न भएका पालिकाहरुमा संस्थापन इतरको दबदबा देखिन्छ । यस्तो छ विभिन्न जिल्लाका पालिकामा कांग्रेसका समूहहरुको उपस्थितिः 

कास्की  


कास्कीको पोखरा महानगरपालिकामा सुरेन्द्रमान बिजुक्छे सभापति निर्वाचित भएका छन् । खसेको १३४४ मतमध्ये ४१४ मत ल्याउँदै बिजुक्छेले जित हात पारे । बिजुक्छेलाई  रामचन्द्र पौडेल पक्षधर कास्कीका नेताहरुको साथ थियो । बिजुक्छे यसअघि पोखरा महानगर समितिमा उपसभापति, कोषाध्यक्ष र सदस्य भइसकेका व्यक्ति हुन् ।  

कास्कीका अन्य पालिकामा पनि पौडेल पक्षकै उपस्थिति बाक्लो छ । मादी गाउँपालिकामा यामप्रकाश गुरुङ सभापति निर्वाचित भएका छन् । कास्की कांग्रेस सभापति कृष्ण केसीले उठाएका उम्मेदवार देवीजंग गुरुङलाई १ मतले हराउँदै यामप्रकाश निर्वाचित भएका हुन् । केसी पौडेल पक्षधर हुन् । 

देवीले ९२ मत पाउँदा यामप्रकाशले ९३ मत पाए । गुरुङ संस्थापन पक्षबाट सभापति बनेपनि अधिकांश पदाधिकारी पौडेल पक्षधर छन् । माछापुच्छ्रे गाउँपालिकामा पनि सभापति संस्थापन समूहले जित्दा बाँकी पदाधिकारीमा पौडेल खेमाको बर्चस्व छ । पौडेल समूहका मधुसूदन अधिकारीलाई १५ मतान्तरले हराउँदै वीरेन्द्र गुरुङ सभापति बनेका हुन् । 

अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारीको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । रुपा गाउँपालिकामा विमलबाबु न्यौपानेको नेतृत्वमा सर्वसम्मत समिति बनाइएको छ । भण्डारी र न्यौपानेलाई नेतृत्वमा पु¥याउन पौडेल पक्षधर नेताहरुको साथ र समर्थन थियो । 

लमजुङ 

लमजुङका ८ मध्ये निर्वाचन सम्पन्न ७ पालिकामा पौडेल समूहको एकछत्र राज छ । ७ पालिकामध्ये ६ पालिकामा पौडेल पक्षको सभापति छन् । बेसीसहर नगरपालिकामा शरणहरि जोशी सभापति बनेका छन् । सुन्दरबजार नगरपालिकामा प्रकाश सेंढाइ र मध्यनेपाल नगरपालिकामा वसन्तराज घिमिरे सभापति निर्वाचित भएका छन् । यी सबै निर्वाचित सभापति पौडेल समूहका हुन् ।

मतपत्र कब्जा गरेर जलाइएपछि राइनास नगरपालिकाको निर्वाचन स्थगित छ । लमजुङका ४ नगरपालिकामा सर्वसम्मत नेतृत्व चुनिएका छन् । दोर्दीमा देउवा पक्षका दिक्षबहादुर घले सर्वसम्मत चुनिएका छन् । दूधपोखरी, मस्र्याङ्दी र क्व्होंलासोथार गाउँपालिकामा पौडेल पक्षधर नेतालाई सर्वसम्मत रुपमा सभापति चयन गरिएको छ । 

स्याङ्जा 

स्याङ्जाका ११ पालिकामध्ये ९ पालिकाको मत परिणाम आइसकेको छ । जिल्ला सभापतिमा उठ्ने भनिएका राजु थापाको साथ पाएका नेताहरुले स्याङ्जाका अधिकांश पालिकामा जित दर्ता गराएका छन् । थापा पनि देउवा पक्षधर भएपनि उनलाई रामचन्द्र पौडेलको पनि साथ रहेको बताइन्छ । कांग्रेस प्रभावशाली नेता गोपालमान श्रेष्ठले भागवतप्रकाश मल्ललाई साथ लिएपछि चिढिएका राजुलाई पौडेलको साथ छ । जिल्ला सभापतिमा राजु र भागवत आमनेसामने हुने लगभग पक्का छ । 

चापाकोट नगरपालिकामा विक्रम सारुले सभापतिमा निर्विरोध चयन भएका छन् । उनी भागवतप्रकाश मल्ल पक्षधर हुन् । गल्याङमा पनि भागवतप्रकाश पक्षकै श्याम बस्याल सभापति बनेका छन् । पुतलीबजार नगरपालिकामा भने राजु थापाको समर्थन पाएका सुरजकुमार अधिकारीले नतिजा आफ्नो पक्षमा पारे । 

आँधीखोला गाउँपालिकामा नरेन्द्र पौडेल सभापति बनेका छन् । पौडेल उनै हुन् जो गोपालमान श्रेष्ठ मन्त्री हुँदा निजी सचिव थिए । पौडेल निजामती सेवाबाट निवृत्त भएर राजनीतिमा प्रवृत्त भएका हुन् ।

गोपालमान शिक्षा मन्त्री हुँदा उनलाई जिल्ला शिक्षा अधिकारी बन्ने मौका मिलेको थियो । तर अहिले उनी राजु थापाको पक्षमा लागेर सभापति बनेका हुन् । अर्जुनचौपारी गाउँपालिकामा राजु थापाकै पक्षका विष्णु काफ्ले सभापति बनेका छन् । भीरकोट, बिरुवा, हरिनास र फेदीखोलामा पनि थापा पक्षकै उम्मेदवारले जित हासिल गरेका छन् । 

तनहुँ 

तनहुँमा भने संस्थापन र पौडेलसँगै कृष्ण सिटौला समूहका उम्मेदवार पनि विजयी भएका छन् । ४ पालिकामा संस्थापन पक्षले जित्दा २÷२ पालिकामा पौडेल र सिटौला पक्ष विजयी भएको छ । देवघाट, बन्दीपुर, आँबुखैरेनी, म्याग्देमा शंकर भण्डारी निकट उम्मेदवारले सभापति पद पाएका छन् । भण्डारी संस्थापन पक्षका हुन् ।
 
व्यास नगरपालिकामा पौडेल पक्षका सूर्यचन्द्र हड्खले विजयी भएका छन् । भानुमा पनि पौडेल पक्षधर रामकुमार श्रेष्ठ सभापति चुनिएका छन् । शुक्लागण्डकी नगरपालिकामा गोपीबहादुर गुरुङ सभापति चुनिए । उनी युवा नेता प्रदीप पौडेल निकट छन् । प्रदीप हालसम्म सिटौला पक्षमा छन् । घिरिङमा पनि प्रदीप पौडेलनिकट ज्ञान थापाले सभापति पद पाएका छन् । तनहुँको भीमाद नगरपालिकामा सोमबार मतदान हुँदै छ भने रिसिङ गाउँपालिकामा विवाद टुंगो लागेको छैन । 

पर्वत 

पर्वतमा ७ स्थानीय तहमध्ये बिहादी र महाशिला गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । दुवैमा संस्थापन पक्षले सभापति जितेको छ । बिहादीमा विष्णुप्रसाद भुसाल र महाशिलामा उज्वल गुरुङ सभापति बनेका हुन् । 

म्याग्दी 

म्याग्दीका ५ पालिकामध्ये ५ पालिकामा संस्थापन पक्षले सभापति पद जितेको छ । हालका जिल्ला सभापति रहेका देउवा निकटस्थ खम्बिर गर्बुजाको साथ पाएका उम्मेदवारहरुले सभापति पद पाएका छन् । मंगलामा सभापति पद जितेका नरसिंह केसीले कुनै समूहमा औपचारिक रुपमा नखुले पनि उनलाई खम्बिरको साथ रहेको स्थानीय नेता बताउँछन् । 

गोरखा

गोरखाका ११ पालिकामा पनि संस्थापन पक्षको पकड देखिन्छ । गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकामा सर्वसम्मत रुपले सभापति चयन भएका छन् ।  अरु पालिकामा पनि संस्थापन पक्षले जित हात पारेको छ । हरि घले, सुरेन्द्र पाण्डे र चिनकाजी श्रेष्ठ जस्ता प्रभावशाली नेता देउवा पक्षमा उभिँदा पौडेल पक्षको भने प्रभाव देखिँदैन । पौडेल पक्षमा कमला पन्तमात्र केन्द्रीय नेता हुन् । मनाङका सबै पालिकामा सर्वसम्मत रुपमा पदाधिकारी चयन भएका छन् । बागलुङमा आइतबारमात्र निर्वाचन भएकाले मत परिणाम आउने क्रम बाँकी छ । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x