गण्डकी

आगामी असार २ गते व्यास नगर प्रमुखको पुनःमतगणना हुने

इकागज |
जेठ ११, २०८१ शुक्रबार २१:४५ बजे

तनहुँ- आगामी असार २ गते तनहुँको व्यास नगरपालिका प्रमुखको पुनःमतगणना हुने भएको छ । उच्च अदालत पोखराले गत जेठ १ गते गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठअनुसार असार २ गते पुनःमतगणना हुन लागिएको हो । 

फैसलामा एक महिनाभित्र पुनःमतगणना गर्नु भनिएअनुसार उच्च अदालत पोखराको सभाहलमा असार २ गते बिहान १० बजेदेखि मतगणना गर्न हुनेछ ।  उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्तले इजलासले गत स्थानीय तह निर्वाचनमा नगर प्रमुखको मतगणना बदर गरी पुनःमतगणना गर्न आदेश दिएको थियो । 


नगर प्रमुखका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै विसं २०७९ जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए । रिटमा अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो । 

स्थानीय तहको निर्वाचनअन्तर्गत नगर प्रमुख बैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए भने जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।

मतदानकै बेला व्यास नगरपालिका–८ रिस्तीमा मतपत्र च्यातिएपछि जोशीमाथि आक्रमण भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उक्त वडाको मतदान केन्द्रको मतदान स्थगित गरी पुनः मतदान गराएको थियो । रासस


Author

थप समाचार
x