गण्डकी

जथाभावी फोहोर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

इकागज |
मंसिर २८, २०८० बिहीबार ८:३ बजे

ढोरपाटन (बागलुङ)- बागलुङमा जथाभावी फोहोर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहोरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहोरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहोर पनि बढ्दै गएको छ ।

बजारबाट निस्कने फोहोर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशक अघि बुर्तिबाङ बजार सानो थियो । फोहोर पनि थोरै निस्कन्थ्यो । सबै फोहोर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए । र त्यही जलाउने गरेका थिए । तर अहिले बजारबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहोर फाल्दै आएको छ ।


बजारको फोहोर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ । खोलाले बगाएर फोहोर पुनः बजारसम्म पुर्‍याउँछ । फोहोरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहोर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ ।

देशकै नमूना सहर भनिए पनि फोहोर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ । आर्थिक वर्ष २०६७/६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहोर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन् । खोलामा बग्ने फोहोरका कारण जलचर जीवलाई असर पुगेको छ ।

फोहोरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरू बताउँछन् । हाल फोहोर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउँमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको  छ । बुर्तिबाङ बजारको फोहोर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ । कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फालिँदै आइएको छ ।

खोला छेउमा फोहोर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । बजारबाटै गाडीले फोहोर सडक भरी खसाल्दै ल्याउने र जथाभावीरुपमा फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ ।

वर्षौंदेखि बजारको फोहोर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन् । हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहोरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ ।

बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ । जनघनत्व  बढ्दै गएको छ । तर बजारको फोहोर व्यवस्थापन भने हुन सकेको छैन । सबै फोहोर खोलाले बगाएर जताततै पुर्‍याउँछ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहोर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको बताए । आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ । जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहोर व्यवस्थान हुने उपप्रमुख कायतको विश्वास छ । रासस


Author

थप समाचार
x