गण्डकी

जो फूलसँगै रमाउँछिन्, फूलबाटै कमाउँछिन् (फोटो फिचर)

धनबहादुर गुरुङ |
कात्तिक २९, २०८० बुधबार १०:३७ बजे

पोखरा- पोखरा १३, उद्गमटोलको केवलकार मनकामना नर्सरी, जहाँ गेटबाटै सयपत्री फूलले स्वागत गर्छ । अलिभित्र पुगेपछि सिजनल फूलको बेर्ना । घर छेवैको फोगटोमा ढकमक्कै फुलेका सयपत्री । वरिपरी फूल किन्नेको जमात । फूल टिप्न र बेच्न नर्सरी सञ्चालिका रजिता गुरुङलाई भ्याईनभ्याई छ । यमपञ्चक सुरु भएदेखि उनको व्यस्ता बढ्दो छ ।


तिहारका लागि उनीहरूले करिब ४ हजार ५ सय बेर्ना सयपत्री फूल लगाएका छन् । तिहारमा मखमली र सयपत्री फूलको माग बढ्ने भएपनि आफूहरूले सयपत्री मात्र लगाएको रजिता गुरुङ बताउँछिन् । ‘हामीले यहाँ सयपत्री मात्र लगाएका छौं, पोखरामा माग पनि मखमलीभन्दा यसकै हुन्छ,’ उनले भनिन्, ‘अर्डर आउन सुरु भइसक्यो ।

भाइटीकाको दिनसम्म फूल सकिन्छ । बुटामात्रै रहन्छ ।’ नर्सरीमा गोदावरी, लालुपाते, इन्द्रकमल, धुपी लगायतका फूल र फलफूलका बेर्नासँगै गार्डेन सजावटका लागि दुबो पनि छन् । अरु बेला उतिसारो काम नभए पनि तिहारको बेला भने निकै व्यस्त हुने गरेको उनी सुनाउँछिन् ।

यस वर्ष सयपत्री फूल बेचेर १ लाख ५० हजार रुपैयाँ आन्दानी गर्ने रजिताको अनुमान छ । उनले इकागजसँग भनिन्, ‘डेढ लाख जति आम्दानी हुन्छ की भन्ने आशा छ, त्यसमा सबै खर्च कटाएर ८० हजार बचत होला ।’

पोखरा झरेर नर्सरीमा लागेदेखि उनी कहिल्यै निराश हुनु परेको छैन । कोरोनाको समयमा केही बिथोले पनि घाटामा जानु नपरेको उनी सम्झिन्छिन् । उनलाई पोखरामा फूल बेचेर घडेरी किनौंला र घर ठड्याउँला भन्ने छैन ।

पोखरामा उनको ३ जनाको परिवार गज्जबले जमेको छ । नर्सरीमा श्रीमान शंकर गुरुङले पनि राम्रै साथ दिइरहेको रजिताले बताइन् । साथै नर्सरीमा दैनिक तीन जना कर्मचारीले काम गरिरहेका छन् ।

सानोदेखि नै फूलमा शौखिन भएकाले नर्सरी व्यावसायमा लागेको रजिताले बताइन् ।  विगत ८ वर्षदेखि उहाँ यही काममा व्यस्त अहिले फूलसँग रमाउने अनि कमाउने पेसाले आफू सन्तुष्ट रहेको उनको भनाइ थियो ।

‘म सानै देखि फूल भनेसी हुरुक्कै हुन्थे । अहिले मन परेको काम गर्न पाएको छु निकै खुसी छु,’ रजिताले भनिन्, ‘फूलबाट भएको आम्दानीले परिवार पाल्न पाउँदा झनै सन्तुष्ट छु ।’

२०७३ सालदेखि यही पेशामा लागेपनि सरकारी निकाय कुनै सहयोग नभएको प्रति भने उनको गुनासो छ । सरकारी निकायमा दर्ता गरेर व्यावसाय गरेकाहरूलाई समस्या परेका बेला साथ दिनुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘पोहोर सालको दशैमा झरी पर्दा मैले लगाएको फूललाई धेरै असर गर्‍यो । क्षति पनि भयो । कहाँ कसलाई भन्ने थाहै भएन् ।’

 


Author

थप समाचार
x