गण्डकी

पोखरामा आयातित फूल प्रतिबन्ध

व्यवसायी भन्छन्- पोखराको फूलले तिहार धान्दैन

धनबहादुर गुरुङ |
कात्तिक १७, २०८० शुक्रबार २२:३ बजे

पोखरा- पोखरा महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै बाहिरका फूल आयातमा कडाइ गरेको छ । सूचना अनुसार महानगरले प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरणमा पनि पूर्ण रोक लगाएको छ । भने, सयपत्री फूलको माला संघीय सरकारले आयातमा बन्द गरेकाले त्यो पनि कार्यान्वयन गर्ने जनाएको छ ।

‘वातावरण संरक्षण ऐनले प्लास्टिकको फूलगुच्छाको बिक्री वितरण तथा भण्डारणमा पूर्ण निषेध गरेको छ,' पोखराका मेयर धनराज आचार्यले भने, ‘संघीय सरकारले कात्तिक १ देखि आयातित सयपत्री माला बन्द गरेकोले उक्त निर्णय कार्यान्वयन गर्न महानगरले सूचना जारी गरेको हो ।’


महानगरले स्थानीय फूल मात्रै बिक्री वितरण र उपभोग गर्न निर्देशन दिएको हो । मेयर आचार्यका अनुसार महानगरले अनुगमनलाई कडाइ गर्नेछ । पोखरा भित्रका स्थानीय पुष्प व्यवसायी तथा पोखरा महानगरपालिकाको सहयोगमा १ सय ६५ रोपनी क्षेत्रमा किसानलाई महानगरले सयपत्री फूल खेती प्रवर्द्धन गरेको भन्दै आवश्यक फुलको लागि वडास्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ । 

तर, व्यवसायीहरू भने पर्याप्त मात्रामा फूल नभएकाले पोखरामा फूलको माग धान्न गाह्रो पर्ने बताइरहेका छन् । व्यवसायीहरूका अनुसार पोखरामा यसपटकको तिहारमा भाइटीकाबाहेक अरु दिन भारतकै फूलमा निर्भर हुनुपर्ने देखिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीका पूर्वअध्यक्ष दयाकुमार द्वाले मौसम प्रतिकूलताका कारण फूल खेतीलाई असर गरेको बताए । फूलको बिउ उमार्नेदेखि लगाउने समयमा अत्यधिक पानी परेकाले खेती फस्टाउन नसकेको उनको भनाइ थियो ।

‘फूलको बिउ उमार्ने बेला नै पानी पर्यो । फूलखेती राम्रोसँग फस्टाउन सकेन,’ उनले भने, ‘सोही कारण पनि यो पटक धेरै फूल फुल्न गाह्रो छ ।’ उनका अनुसार अघिल्लो वर्षभन्दा बढी फूल भारतबाट भित्र्याउनुपर्नेछ ।

कुनै समयमा तिहारका लागि पोखरामा ९० प्रतिशतसम्म फूल भारतबाट आयात हुने गरेकोमा अघिल्लो वर्ष १० प्रतिशतसम्ममा झरेको उनले सम्झिए । उनका अनुसार भाइटीकाको दिन लगाउने माला स्थानीय उत्पादनले धान्ने भए पनि काग तिहार, लक्ष्मीपूजालगायतमा भारतको फूल प्रयोग गर्न उनको सुझाव थियो । द्वाले भने, ‘बाहिरबाट झरेको माला ढोकामा र अन्य पूजाको लागि प्रयोग हुन्छ, गलामा लगाउन भने यहींको उत्पादनले पुग्छ ।’

अर्का किसान गणेश बरामले दसैँ सुरु हुन नपाउँदै अधिकांश सयपत्री फक्रन थालेपछि तिहारमा समस्या पर्ने बताउँछन् । उनले लगाएका अधिकांश फूल अहिले फूलिसकेको छ । कतिपय फूल सुक्न थालेको छ भने फूलका बोटहरू समेत मर्न थालेका छन् । सुरुमा आवश्यकताभन्दा बढी वर्षा र चिसो हुनुपर्ने मौसममा गर्मी भएपछि समय अगावै फूल फक्रिएको किसानको भनाइ छ ।

यस्तै फ्लोरिकल्चर एशोसियसन अफ नेपाल (फ्यान) को आयोजनामा पोखरामा चौथो संस्करणको पुष्प मेला शुक्रबारदेखि सुरु गरेको छ । मेलामा पोखरासहित प्रदेशका व्यावसायिक किसानले उत्पादन गरेका फूल प्रदर्शनी र विक्रीका लागि राखिएको छ । त्यहाँ विभिन्न प्रजातिको फूलका लागि २० वटा व्यावसायिक स्टल राखिएका छन् भने २ वटा कृषि सामग्रीको स्टल छ । उक्त मेला सोमबारसम्म चल्नेछ । 

मेलाको उद्घाटन गर्दै प्रमुख आचार्यले पुष्प व्यवसायको प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए । पोखरालाई आवश्यक पर्ने पुष्प तथा फूलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको उनले बताए ।

 


Author

थप समाचार
x