गण्डकी

एमाले गण्डकी : पृथ्वीसुब्बा–खगराज प्यानल बन्ने संकेत

धनबहादुर गुरुङ |
असोज १६, २०८० मंगलबार १६:४० बजे

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन पोखरामा चलिरहेको छ । सोमबार उद्घाटनपछि अहिले पोखरा सभागृहमा बन्द सत्र भइहेको छ । अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । गण्डकीको नेतृत्व कसले गर्छ भन्ने चर्चाको विषय बनेको छ । यसका लागि प्रदेशभरबाट ९ सय ७ जना प्रतिनिधि पोखरामा छन् ।

नेकपा एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनअघिसम्म नेतृत्वका लागि कुनै प्यानल नबन्ने बताउँदै आएका थिए । सकेसम्म सर्वसम्मत अध्यक्ष टुंगाउने यदि सहमति नभए निर्वाचन भइहाले प्यानल खडा नहुने अधिवेशनका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले दोहोर्याएर भनेका थिए । उनले प्यानल खडा हुने अवस्था आयो भने उम्मेदवारी खारेज हुनेसम्मको अभिव्यक्ति दिएका थिए । तर, नेतृत्वका लागि समय नजिकिँदै जाँदा उनले भनेका कुरा नहुने निश्चित जस्तै भएको छ । 


सहमतिबाट नेतृत्व चुन्ने समय बाँकी रहे पनि सहमतिबाट नेतृत्व चुन्ने सम्भावना एकदमै न्यून छ । यहाँ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी एक अर्काले आ–आफ्नो नजिकका मान्छे अध्यक्ष बनाउने गरी लागेका छन् । उनीहरूले आफ्नो फेबरको मान्छे अघि सार्दा सहमतिको बाटो न्यून बनेको हो । उनीहरू प्रतिनिधि छनोट गर्दादेखि नै आफ्नो पक्ष बलियो बनाउने गरी लागिपरेको एमालेकै नेता कार्यकर्ताहरू बताउँछन् । गुरुङलाई उपाध्यक्ष विष्णु पौडेल र खगराजलाई महासचिव शंकर पोखरेलको साथ छ ।

दुवै पक्षले अहिले छुट्टाछुट्टै स्थानबाट आफ्ना नेता कार्यकर्तालाई भेटघाट गरिरहेका छन् । उनीहरूको पक्षका प्रतिनिधिहरूको भनाई अनुसार ती स्थान अघोषित ‘सचिवालय’ जस्तै बनेको छ । उपमहासचिव गुरुङले लेकसाइडको होटल एलेगेन्ट र खगराजले जिरोकिमिमा न्यू एरा पार्टी प्यालेस र सभागृह चोकमा रहेको मिड टाउन होटलमा छलफल गरिरहेका छन् । सोही कारण पनि पृथ्वीसुब्बा र खगराज प्यानल बन्ने निश्चित नै छ । आफ्नो पक्षका प्रतिनिधिका अनुसार गुरुङ र अधिकारीको प्यानल बने कडा प्रतिस्पर्धा हुने आंकलन हुनेछ । अंकगणित हेर्दा दुवै पक्षको उस्तैउस्तै प्रतिनिधि रहेको एमाले नेताहरू बताउँछन् ।

गुरुङ पक्षबाट हालका अध्यक्ष नवराज शर्मा र सचिव धनन्जय दवाडी सचिवमा दोहोरिने प्रबल सम्भावना छ । भने, खगराज पक्षबाट अध्यक्षमा केन्द्रीय सदस्य मायानाथ अधिकारी र सचिवमा रश्मी आचार्य उठ्ने चर्चा छ । उपमहासचिव गुरुङ र केन्द्रीय सदस्य मायानाथ लमजुङका हुन् । मायानाथलाई अध्यक्ष उम्मेदवार बनाएर गुरुङलाई जिल्लामा कमजोर बनाउने रणनीतिमा खगराज पक्ष देखिन्छ ।

केन्द्रीय सदस्य राजीव गुरुङ, बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, तनहुँ पूर्व प्रदेश सभा सदस्य केदार सिग्देल, स्याङ्जा सोवियत ढकालले पनि प्रदेश अध्यक्षमा दाबी गर्दै आइरहेका छन् ।

गुरुङ र अधिकारी दुवैले आफ्ना फेबरका मान्छे अघि सार्दा निर्वाचनको समय तालिका अनुसार अघि बढ्न सकेको छैन । केही समय अघि गण्डकीको प्रथम अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको थियो । तालिका अनुसार अन्तिम नामावली प्रकाशन दिउँसो ३ बजे, दिउँसो ३ देखि ६ बजेसम्म उम्मेदवारले दरखास्त फारम दर्ता गर्न पाउनेछन् ।

साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुने छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय ७ देखि ७ः३० सम्म तोकिएको छ । निर्वाचन समितिले उजुरी उपर छानबिन र निर्णय साँझ ७ः३० देखि ८ः३० सम्म गर्नेछ । राति ८ः३० देखि ९ बजेसम्म उम्मेदवारको नामावली पुनः प्रकाशन हुनेछ ।

निर्वाचन तालिका अनुसार मंगलबार बिहान १० बजेसम्म उम्मेदवारको नाम फिर्ता, १० बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र १ बजेबाट मतदान सुरु हुनेछ । 


Author

थप समाचार
x