गण्डकी

पोखराको फिर्के खोला खोज्दै नाप्दै मुहानतिर

धनबहादुर गुरुङ |
साउन ३१, २०८० बुधबार २२:५ बजे

पोखरा - पोखरा महानगरपालिकाको मध्य भागबाट बग्ने फिर्के खोलाको मुहान पोखरा १८ अँधेरी कुना हो । अँधेरी कुनाबाट बगेको खोला पोखरा १७ गाइघाट पुगेर फेवातालमा मिसिन्छ । त्यो बीचमा खोला धेरै स्थानमा अतिक्रमणमा परेको छ । खोलाको सिमाना मिचेरै कतिपय संरचना बनिरहेका छन् । खोलाको अस्तित्व नै खतरामा परेपछि पोखरा महानगरपालिकाले खोला खोज्न सुरु गरेको छ ।


महानगरले अहिले फिर्के खोलाको खोलघर छुट्याउने काम सुरु गरेको हो । यो काम सुरु भएको १ महिना पुग्नै आँट्यो । साउन ३ गते पोखराका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत अन्य सरोकारवालाहरूको उपस्थितिमा यसको सुरुआत भएको थियो । फिर्केको अन्तिम बिन्दु फेवाताल किनारको गाईघाटबाट सुरुआत गरिएको हो । सुरुआत गर्दा पोखराका मेयर आचार्यले खोलाघर छुट्याउने काम १ हप्तामा सकिने बताएका थिए तर २८ दिन बितिसक्दा पनि सकिएको छैन । 

यो कामका लागि महानगरले महानगरपालिकाका सर्भेक्षक वासुदेव पौडेलको नेतृत्वमा काम गरिरहेको छ । आफ्नो नेतृत्वमा १८ जना प्राविधिक, ३ जना ओभरसियर, ८ जना कामदार, ७ जना नगरप्रहरी र ४ देखि ५ जना नेपाल प्रहरी दैनिक खटिएको सर्भेक्षक पौडेलले जानकारी दिए । दैनिक ४० जना खटिंदा पनि काम सक्न अझै १ दिन लाग्ने उनले बताए । अहिले टोली पोखरा १८ पोखराबेंसी पुगेको छ । त्यहाँबाट अधेंरीकुनासम्म लगभग ५ सय मिटर खोला नाप्न बाँकी रहेको उनले सुनाए ।

भौगोलिक अवस्था, वर्षा, झाडी फाँड्दै नाप्नुपर्ने लगायत कारणले ढिला भएको टोली प्रमुख पौडेलले बताए । ‘भौगोलिक अवस्था अनि नापीका लागि यो उपयुक्त समय पनि होइन,’ उनले भने, ‘वर्षाको समय भएर पानी परिरहने अनि भित्रै पस्न नसकिने झाडी छ यिनै कारणले ढिला भएको हो ।’ 

अहिलेसम्म खोला कतै ४ मिटरमा खुम्चिएको, कहीं ४० मिरटसम्म फुक्न पाएको छ । ‘अहिले जग्गाधनीका नक्सा र खोला किनार हेरेर पोल गाडेका छौं । खोला कतै ३/४ मिटरमात्र चौडा देखिन्छ भने कतैकतै ३०–४० मिटर फराकिलो पनि छ,’ उनले भने । सर्भेक्षण टोलीले खोलाको क्षेत्र छुट्याउँदै किला गाडेको छ । नापजाँचका क्रममा केही सरकारी तथा व्यक्तिगत संरचना, भवनसँगै ढलको निकास र सेफ्टी ट्यांकीको ढल मिसिएको भेटिएको उनले बताए । ‘लगभग ५०÷६० संरचना खोलाको सिमानाभित्र बनेका छन् । यकिन तथ्यांक आएको छैन । त्योभन्दा बढी नै होला,’ उनले भने, ‘यसमा पक्की, समाजघर, मन्दिरसँगै सानातिना झुप्राहरू परेका छन् । त्यसमा पनि कुनै थोरै टुँडो मात्र परेका छन् भने कुनै आधा र कुनै पूरै घर परेका छन् ।’ 

वारि र पारिका लागि २ टोली बनाएर काम गरिएको छ । पोखरा महानगरका इन्जिनियर सञ्जित प्रधानले खोलाको एक छेउ हेरेका छन् भने अर्को छेउ इन्जिनियर ईश्वर काफ्लेले हेरेका छन् । नापजाँचका क्रममा स्थानीयले बारम्बार नगरपालिकाले नापजाँच गर्ने गरेको तर काम नगरेको भन्दै केही आक्रोश पोखेको सर्भेक्षण प्रमुख पौडेलले बताए । केहीको गुनासो रहे पनि बाँकीले सर्भेमा साथ दिएको उनले बताए । फिर्केको बाटो खोज्न भने २०३२ सालको नक्सालाई आधार मानिएको महानगरले जनाएको छ । 

निरन्तर अतिक्रमणको चपेटामा परेको फिर्केको वास्तविक आकार पत्ता लगाउन महानगरले प्राविधिक टोली नै गठन कार्य गरिरहेकाले आफूहरूले साथ दिइरहेको नागरिक समाज कास्कीका अभियन्ता रामबहादुर पौडेलले जानकारी दिए । ‘एसियाली डेभलपमेन्ट बैंकले छुट्याएको रकम परिचालन गर्नका लागि पनि अहिले गरिएको सिमांकन ज्यादै प्रभावकारी छ । यो सफल हुने कुरामा आशावादी हुन सकिन्छ,’ उनले भने, ‘नापजाँचका क्रममा हुनसक्ने अवरोधका विषयमा सूक्ष्मरुपमा निगरानी गरिरहेका छौं । त्यसको जानकारी हामीले मेयर साब, प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर सहयोग गरिरहेका छौं ।’ आफूहरूले गराएको जानकारीले महानगर र जिल्ला प्रशासनले तयारी गर्न भ्याएकाले ठूलै अवरोध नभएको उनको भनाइ छ । 

पहिलो चरणमा खोला भागको एकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजना अन्र्तगत फिर्के खोलाको संरक्षण, सम्वद्र्धन र विशेष सौन्दर्यीकरणको काम सुरु गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ । अतिक्रमित संरचनाहरू हटाइसकेपछि परियोजना लागु हुनेछ । 
 


Author

थप समाचार
x