गण्डकी

पेचिलाे बन्दै पोखरामा सालिक विवाद

धनबहादुर गुरुङ |
साउन २८, २०८० आइतबार २१:२३ बजे

पोखरा- पोखरा भित्रिने र यहाँबाट अन्य सहरका लागि छुट्ने चोक पृथ्वीचोक कि लखनचोक भन्ने विवाद कायम छ । यो विवाद गणतन्त्र स्थापनापछि सुरु भएको हो । २०६४ वैशाख १८ गते मजदुर दिवसका दिन तत्कालीन वाइसिएलले सालिक तोडफोड गर्यो । अनि लखन थापाको सालिक राखेपछि चोकको नाम नै लखनचोक नामकरण भयो । त्यो समयदेखि निम्तिएको विवाद बेलाबेलामा बल्झिने गरेको छ ।

पोखराको पृथ्वीचोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाकाे सालिक राखेपछि पनि सालिक विस्थापन र पुनःस्थापनाको कार्य चलिरहेको छ । ट्राफिक व्यवस्थापन गर्न भन्दै पोखरा महानगरले २०७४ को दशैंताका मध्यरातमा लखन थापाको सालिकसहितको आइल्याण्ड हटायो । सो समयमा सालिकसहित सालिक परिसरले ओगटेको आइल्याण्ड समेत पूरै हटाएको महानगरले बताएको थियो । त्यसपछि मगर संघले आन्दोलन नै गर्यो, सालिक पुनःस्थापनाको माग पनि गर्यो । त्यसपछि जिल्ला प्रशासन, महानगर र मगर संघबीचको त्रिपक्षीय वार्ताबाट सोही स्थानमा पुनः सहिद थापाको सालिक ठडियो ।


तर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई चाहनेहरूले पृथ्वीचोकमा शाह कै सालिक देख्न चाहन्थे । सोही कारण सहिद लखन थापाको सालिक भएको स्थानमा पोहोर साल पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड राखियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राखेको उक्त प्रतिमा एक समूहले साउन २४ गते निकालिदियो ।

आफूहरूले राखेको राष्ट्र निर्माताको सालिक हराएपछि त्यसको विरोधमा राप्रपाले राँके जुलुस नै निकाल्यो । बुधबार साँझ त्यसको विरोध जनाएको राप्रपाले बिहीबारै फेरि पृथ्वीको प्रतिमा पुनःस्थापना गर्यो । राप्रपाले पृथ्वीनारायण शाहको प्रतिमा चोरी भएको आरोपसमेत लगायो । राष्ट्र निर्माता शाहको फोटो राख्ने, हटाउने राजनीति चलेपछि शुक्रबार पोखरा महानगरका मेयर धनराज आचार्यले सुरक्षा निकायका अधिकारीको उपस्थितिमा सर्वदलीय बैठक डाके । सर्वदलीय बैठकमा पोखरा महानगरमा भएका सबै सालिक पोखरा-१८ स्थित सहिदपार्कमा लैजाने सहमति भयो ।

त्यो सहमतिपछि पोखरामा झनै सालिकमाथि राजनीति सुरु भएको छ । निर्णय सुनाउँदा मौन रहेका कांग्रेसका नेताहरू अहिले त्यसैको विरोधमा उत्रेका छन् । बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मात्र होइन कांग्रेसका जिल्ला सचिव भानु ढकालसमेत थिए ।

अहिले कांग्रेसलाई परेको पिरलो भनेको वीपी कोइराला, गणेशमान सिंह र हरिप्रसाद गुरुङको सालिकको विस्थापन हो । यी तीन नेताका सालिक विस्थापन हुने भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि कांग्रेस जिल्ला सभापति किशोदत्त बरालले आइतबार विज्ञप्ति नै निकालेका छन् । उनले पोखरा सहरका मुख्य सडकहरूमा रहेका सालिकहरूको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगर पालिकाबाट शनिबार सार्वजनिक भएको अनुरोध प्रति नेपाली कांग्रेस कास्कीको ध्यानाकर्षण भएको जनाएका छन् ।

राप्रपाका नेताहरू पनि पृथ्वीनारायण शाहको सालिक लखन थापा भएकै स्थानमा राख्ने बताउँदै आएका छन् । राप्रपाले आइतबार उक्त चोकमा मेयर आचार्यविरुद्ध नाराबाजी गरे । पृथ्वीनारायण शाहको मूर्ति पुनःस्थापना गर्ने अभियानका लागि ब्यानर टाँस्न राप्रपाका कार्यकर्ताहरूकाे एक टोली पुगेका थिए । लखन थापाको सालिकमुनि ब्यानर टाँस्न खोजेपछि प्रहरीले रोक लगाएको थियो ।

यस्तै तमु ह्युला चोक (विरौटा) मा रहेको सालिक पनि सोही स्थानमा राख्नुपर्ने भन्दै तमु धि नेपालले आन्तरिक कसरत थालेको छ ।


Author

थप समाचार
x