गण्डकी

पोखराको फिर्के खोलामाथि बने घर, खोला खोज्दै महानगर

धनबहादुर गुरुङ |
साउन १२, २०८० शुक्रबार १६:३६ बजे

पोखरा- पोखरामा फिर्के खोला खोज्ने कार्य चलिरहेको छ । साउन ३ गते पोखराका मेयर धनराज आचार्य आफैँ पुगेर सुरुवात गरिएको अभियान अझै जारी छ । 
शुक्रबारसम्म ४ किलोमिटर जतिको दूरी खोजी सकिएको छ । पोखरा १८ अधेंरीकुनाबाट सुरु भएको फिर्के खोला फेवाताल गाईघाटमा पुगेर सकिन्छ । प्रदूषण र अतिक्रमणको चपेटामा परेको फिर्केखोला संरक्षण गर्न बासुदेव पौडेल नेतृत्वको सर्भेक्षण टोली खटिएको छ ।

करिब ८ किलोमिटरको दूरीमा रहेको खोला खोज्न सर्वेक्षण प्रमुख पौडेलको नेतृत्वमा दैनिक ४० जनाको प्राविधिक खटिएका छन् । ती टोली खोला खोज्न कहिले झाडीभित्र पसेका छन् । कहिले ढल निकास भएतिर पुगेर पनि उनीहरूले मिटर तेर्साउन भ्याएका छन् । त्यति मात्र नभएर उनीहरूले व्यक्तिगत तथा संस्थागत रुपमा बनाइएका ढलान घर भित्रै पुगेर पनि खोला नापेका छन् । घरभित्रबाट नमिले छतमा पुगेरै पनि खोलाको साँधसिमाना पत्ता लगाएर पोल गाड्दै हिँडेका छन् । पोल गाड्न नमिल्ने स्थानमा इनामेलले चिह्न लगाएका छन् । 


केही घर फिर्के खोला माथि बनेकाले भित्रै पसेर नापिएको पोखरा महानगरपालिकाका इन्जिनियर इश्वर काफ्लेले जानकारी दिए । अहिलेसम्मको नापजाँचमा खोला कतै ४ मिटरमा खुम्चिएको छ त कहीँ ४० मिटरसम्म फुक्न पाएको छ । केही सरकारी तथा व्यक्तिगत संरचना, भवनसँगै ढलको निकास र सेफ्टी ट्यांकीको ढल मिसिएको भेटिएको महानगरपालिकाका सर्वेक्षक बासुदेब पौडेलले जानकारी दिए । ‘अहिले जग्गाधनीका नक्सा र खोला किनार हेरेर पोल गाडेका छौं । खोला कतै ३/४ मिटरमात्र चौडा देखिन्छ भने कतैकतै ३०–४० मिटर फराकिलो पनि छ,’ उनले भने ।  सर्भेक्षण टोलीले खोलाको क्षेत्र छुट्याउँदै किला गाडेको छ ।

वारी र पारीका लागि २ टोली बनाएर काम गरिरहेको पोखरा महानगरका इन्जिनियर संजित प्रधानले जानकारी दिए । उनले खोलाको एक छेउ हेरेका छन् । आफूले हेरेको क्षेत्रमा ७ वटा आरसिसी घरहरू फिर्केखोला माथि बनेको भेटिएको उनले बताए । ‘अहिलेसम्म ४ किलोमिटर जति नापियो । मैले हेरेको क्षेत्रतर्फ स–साना टिनका छाप्राहरू परेको छ,’ उनले भने, ‘लायन्स भवन, मन्दिर लगायत ७ वटा जति आरसिसी ढलानका घरहरू परेका छन् ।’ 

सोही टोलीमा अर्को तर्फको छेउ इन्जिनियर इश्वर काफ्लेले हेरेका छन् । उनले नापेको किनारतर्फ भने १५ जति ढलान घर परेका छन् । ‘मैले हेरेको क्षेत्र तर्फ १५÷१६ ढलान घर फिर्के माथि बनेको भेटिएको छ,’ उनले भने, ‘स–सना संरचना त कति हो कति खोला माथि नै भेटिएको छ ।’ अहिलेसम्म २ दर्जन ढलान घरहरू फिर्केमाथि बनेको घर र खोला छुट्याउने क्रममा भेटिएका छन् । मुहान क्षेत्रमा जाँदा अझै बढि ढलान घरहरू भेटिनसक्ने सर्भेक्षण प्रमुख पौडेलले बताए । 

यो खोलाको खोलाको पटक–पटक सीमांकन र नक्सांकन भएका छन् । निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा फिर्के रेखांकन समिति गठन गरेर काम भएको थियो । त्यो बेला खोला मिचेर १ सय ९२ संरचना बनेको देखिएको थियो । सो समयमा प्रतिवेदन पनि बनेका छन् । तर, ती प्रतिवेदन कार्यान्वयन नहुँदा फिर्के खोला बर्सेनि अतिक्रमणको चपेटामा परेको छ । अहिले गठित सर्भेक्षण टोलीले खोलाको सीमांकन गरी प्रतिवेदन महानगरमा पेस गर्नेछ । 

जुनसुकै हालतमा फिर्केको सीमांकनसहित यसलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना पूरा हुने महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । फिर्केको बाटो खोज्न भने २०३२ सालको नक्सालाई आधार मानिएको महानगरले जनाएको छ । महानगरले खोलाघर छुट्टाएपछि फिर्केको सौन्दर्यकरण गर्ने योजना बनाएको छ । एसियाली विकास बैंक (एडिबी)सहयोगमा फिर्केको दायाँबायाँ साइकल लेनसहितको फुटट्रेल, ठाउँठाउँमा चेकड्याम र लाइटिङको काम गर्ने योजना छ । हिउँदमा फिर्केमा पानी नहुँदा मर्दीबाट पानी ल्याएर बगाउने महानगरले जनाएको छ । ६५ करोडको योजनामा काम हुने उनले बताए । घर खोला नापजाँचपछि दोस्रो चरण अन्तर्गत असोजमा मापदण्डअनुसार दायाँबायाँ क्लियर गर्ने उनको भनाइ छ ।
 


Author

थप समाचार
x