गण्डकी

गण्डकीमा लम्पी स्किनले १८ सय गाईभैंसी मरे, १० करोडभन्दा बढी क्षति

धनबहादुर गुरुङ |
असार २९, २०८० शुक्रबार २१:४१ बजे

पोखरा- गण्डकीमा लम्पी स्किन रोगबाट ४८ हजार १ सय ३९ पशुवस्तु संक्रमित भएका छन् । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका अनुसार असार २६ सम्ममा १ हजार ८ सय १ पशुवस्तु मरेका छन् ।

प्रदेशका ११ जिल्लामध्ये अन्तिम पटक मनाङको चामेस्थित थान्चोकका किसानले पालेको गोरुमा यो रोग देखिएको हो । प्रदेशमा सबैभन्दा धेरै गोरखामा पशुवस्तुहरू संक्रमित भएका छन् । १३ हजार ८ सय ३६ वटा गाईभैंसी गोरखामा मात्रै संक्रमित भएका हुन् । प्रदेशभर हालसम्म ४ हजार ५ सय ७३ वटा बाच्छाबाच्छी, २४ हजार ३ गाई, १७ हजार ७ सय ६४ गोरु, १ सय २५ पाडापाडी, १ हजार ५ सय ५२ भैंसी र १ सय २२ वटा राँगोमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।


तीमध्ये २ सय १४ बाच्छाबाच्छी मरिसकेका छन् भने ८ सय ४९ गाई, ६ सय ९८ गोरु, १७ वटा पाडापाडी, २२ वटा भैंसी र एउटा राँगो मरिसकेको निर्देशनालयले जनाएको छ । ‘ठूलो फर्महरूमा क्षति भएको छैन । पहिले नै खोप लगाएर सुरक्षित गरिएको छ,’ निर्देशनालयका पशु चिकित्सक सुरेशकुमार श्रेष्ठले भने, ‘अहिले पनि खोप अभियान तीव्र छ ।’

उनका अनुसार हालसम्म ५ सय ९५ जना किसानका ६० हजार ६ सय ९९ वटा पशुमा खोप लगाइसकिएको छ ।

गण्डकीमा लम्पी स्किनका कारण अहिलेसम्म १० करोड हाराहारी नोक्सान भएको आंकलन गरिएको छ । क्षतिको यकिन तथ्यांक भने निकालिएको छैन । यसबाट सबैभन्दा बढी नवलपुरमा ४ सय ८ पशुचौपाया मरेका छन् । मुस्ताङमा ४ वटा पशु मरेका विवरण छ । यसैगरी कास्कीमा ३ सय ५३, गोरखामा ३ सय १९, तनहुँमा २ सय ४८ र बागलुङमा १ सय ६६ वटा पशु मरेका छन् । स्याङ्जामा १७, लमजुङमा ४७, पर्वतमा ७० वटा मरेका छन् । गण्डकीमा लम्पी स्किनबाट गाई र गोरुको क्षति बढी छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किन रोग फैलिएको छ । सन् २०१९ मा मान्छेमा फैलिएको कोरोना संक्रमणजस्तै पशुमा अहिले लम्पी स्किन फैलिएको हो । एक अध्ययन अनुसार समयमा नै यो रोग नियन्त्रण र रोकथाम गर्न नसके नेपालमा २५ लाखभन्दा बढी पशुमा संक्रमण फैलिने र १ लाख गाईभैंसी मर्ने अनुमान छ । यसबाट झन्डै १ खर्ब २६ अर्ब क्षति हुने आंकलन गरिएको छ । 


Author

थप समाचार
x