गण्डकी

गण्डकी प्रदेशभर वर्षदिनमा १२ हजारले गराए सुरक्षित गर्भपतन

धनबहादुर गुरुङ |
असार २४, २०८० आइतबार २१:४० बजे

सांकेतिक तस्बिर

पोखरा- सुरक्षित गर्भपतनको अधिकार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख भए अनुसार गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ । यस्तै, गर्भवती महिलाको ज्यानमा खतरा वा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्ने भनी इजाजतपत्र प्राप्त चिकित्सकको राय बमोजिम गर्भवती महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने अधिकार छ ।

जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच.आई.भी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेका, भ्रूणमा कमीकमजोरी हुँदा गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी वंशाणुगत (जेनेटिक) खराबी वा भ्रूणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भलाई पतन गर्न सकिने ऐनमा उल्लेख छ । 


यदि तोकेको अवस्था बाहेक गर्भपतन गर्ने वा गराउनेलाई जेल सजाय र जरिवाना हुने व्यवस्था रहेको छ । जसमा विभिन्न अवस्था हेरी १ देखि ६ वर्षसम्म कैद र १० हजारदेखि १ लाखसम्म जरिवाना हुनेछ ।

ऐन, २०७५ मा टेकेर गण्डकी प्रदेशमा गत वर्ष १२ हजारभन्दा बढीले गर्भपतन भएको तथ्यांक सार्वजनिक भएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशले सार्वजनिक गरेको तथ्यांक अनुसार १२ हजार ४ सय ५० जनाले गर्भपतन गरेका हुन् ।

तथ्यांकृत भएकाहरू सबैले सुरक्षित गर्भपतन गरेका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका कम्युनिटी नर्सिङ अधिकृत अनुराधा तिमिल्सिना जानकारी दिइन् । आर्थिक वर्ष २०७९/०८० मा सुरक्षित गर्भपतन गराएकामध्ये कास्कीका ३ हजार ७ सय २३ जना छन् । तर, गर्भपतन गराउनेको संख्या यो नै अन्तिम नरहेको सरोकारवालहरू बताउँछन् । तोकिएकै स्थानबाट सुरक्षित गर्भपतन गराउनेको यकिन तथ्यांक आए पनि असुरक्षित रूपमा गर्ने गराउनेहरू पनि रहेको तिमिल्सिनाले जानकारी दिइन् ।

गण्डकी प्रदेशमा यति नै संख्यामा असावधानी रूपमा गर्भपतन गर्छन् भन्ने यकिन संख्या नभए पनि कृपा संस्थाले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा १ वर्षमा १ लाख ८६ हजार १ सय ४४ जना महिला तथा किशोरीहरूले असुरक्षित गर्भपतन गर्छन् । यसैका आधारमा पनि गण्डकी प्रदेशमा पनि यसको संख्या बढी नै रहेको तिमिल्सिनाले बताइन् । कृपाको तथ्यांकलाई आधार मान्दै उनी भन्छिन्, ‘नेपालमा प्रतिघन्टा २१, प्रतिदिन ५ सय २० र प्रतिमहिना १५ हजार ५ सय १२ जना महिला/किशोरीले असुरक्षित गर्भपतन गर्छन् ।’ 

गण्डकी प्रदेशमा सुरक्षित गर्भपतनका लागि गण्डकी प्रदेशमा १ सय ४० वटा संस्था छन् । जसमा २८ वटा कास्की जिल्लामा रहेको उनले बताइन् । तिमिल्सिनाका अनुसार नेपालमा गर्भपतन गराउनेमध्ये ५८ प्रतिशतले असुरक्षित विधि अपनाउँछन् । नेपालमा ४१ प्रतिशत महिलाहरूले सुरक्षित गर्भपतनका बारेमा कानुनी मान्यताका बारेमा जानकारी पाएका छन् । ४८ प्रतिशत महिलाहरूलाई सुरक्षित गर्भपतन सेवा दिने स्थानका बारेमा थाहा भएको कृपाको तथ्यांक छ । 

नेपालमा कुल मातृ मृत्युमध्ये ५ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ । स्वास्थ्य संस्थामा मातृ मृत्यु भएका महिलाहरू मध्ये २० प्रतिशत आमाहरूको मृत्यु गर्भपतन सम्बन्धी जटिलताको कारणले भएको भेटिएको छ । महिलाहरूले गर्भपतनपश्चात् आफ्नो स्वास्थ्य समस्याको उपचार गर्न अस्पतालमा १५ सय रुपैयाँदेखि १० हजारसम्म खर्च गरेको भेटिएको उनले बताइन् । 


Author

थप समाचार
x