गण्डकी

गण्डकीका कुश्मा, फलेबास, जलजला र बिरुवाले ल्याएनन् बजेट

धनबहादुर गुरुङ |
असार १२, २०८० मंगलबार ९:४३ बजे

पोखरा- कानुनी प्रावधान अनुसार स्थानीय तहले असार १० गतेसम्म नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ । सोही अनुसार आइतबारसम्म गण्डकी प्रदेशका ८५ स्थानीय तहले बजेटको तयारी गरेको थियो ।

बाध्यकारी व्यवस्था अनुसार अधिकांश पालिकाले आइतबारसम्म बजेट ल्याए तर, ४ स्थानीय तहको बजेट आइतबार रातीसम्म पनि प्रस्तुत भएन् । ‘दुई वटा गाउँपालिकाले बजेट समयमा ल्याएका छैनन् । दुवै पालिकाले मंगलबारलाई सभा बोलाएका छन्,’ गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझाले भने, ‘जतिसक्दो छिटो बजेट ल्याउन हामीले आग्रह गरेका छौं ।’


गण्डकीमा पर्वतका ३ र स्याङ्जाको १ स्थानीय तहले बजेट ल्याउन सकेनन् । जसमा २ नगरपालिका र २ गाउँपालिका छन् । गण्डकीको पर्वत जिल्लाको फलेवास र कुश्मा नगरपालिकासँगै जलजला गाउँपालिका र स्याङ्जाको विरुवा गाउँपालिकाले बजेट पेश गरेनन् । उनीहरुले बजेट नल्याउनुमा विभिन्न कारण देखाएका छन् । 

स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले गाउँसभामा गणपूरक संख्या नपुगेपछि बजेट ल्याउन नसकेको बताए । ४१ जनाको गाउँसभा रहेकोमा १० गतेको बैठकमा १६ जनामात्रै उपस्थित भएका थिए । कांग्रेस र माओवादीबाट निर्वाचित भएका २५ जना उपस्थित नभएपछि गणपूरक संख्या नपुगेको हो । ‘हामीले शनिबार गाउँसभा बोलाएका थियौं । तर, विपक्षी साथीहरु आउनुभएन, गणपूरक संख्या पुगेन र स्थगित गरियो’, उनले भने । 

नेकपा एमालेबाट विजयी भएका कुँवरसँग नगरसभा चलाउने स्पष्ट बहुमत छैन् । ८ वटा वडा रहेको यो पालिकामा ४ वटा वडा नेपाली कांग्रेसको वडाध्यक्षहरु छन् भने एउटा वडाध्यक्ष माओवादी केन्द्रबाट विजयी भएका थिए । सोही कारण पनि कार्यपालिका सदस्य निर्वाचनका समयमा कांग्रेस माओवादी गठबन्धनकै बढि छ ।

अध्यक्ष कुवँरका अनुसार कांग्रेस माओवादीले पालिकामा रहेका करार कर्मचारी हटाउन जोडवल गरेपछि सहमति निस्किन नसकेको हो । ‘सबै करारका कर्मचारी हटाउनुपर्छ भन्नुभएको छ । कतिपय हटाउन नमिल्ने हुन्छ । कार्यसम्पादनमा राम्रो गरेकालाई प्रोत्साहन गर्नुपर्नेमा हटाउने भन्नुहुन्छ,’ उनले भने, ‘काम राम्रो नगरेकालाई हटाउने तर राम्रो काम गरेकालाई पनि एउटै डालामा राखेर हटाउन मिल्दैन भन्दाखेरी बुझ्नुहुन्न ।’ उनले सभा सञ्चालनका लागि दलहरुबीच समन्वय भइरहेको बताए । 

यता, पर्वतको जलजला गाउँपालिकामा पनि गणपुरक संख्या नपुगेकै कारण बजेट रोकिएको छ । आइतबार जलजलाको बैठक बसेर स्थगित भएको हो । बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी नभएपछि गणपूरक संख्या नपुगेको पालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । ‘एमालेका साथीहरु बैठकमा उपस्थित हुनुभएन । बैठकको गणपूरक संख्या नपुगेपछि स्थगीत भएको हो,’ उनले भने ।

४७ जना गाउँसभा सदस्य रहेको जलजलामा एमालेबाट २७ जना निर्वाचित भएका हुन् । जलजलाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका आचार्य विजयी भएका थिए । यो पालिकामा ९ वटा वडा छन् । जसमा ५ वटा वडामा नेकपा एमालेका वडाध्यक्ष छन् । २/२ वटा वडामा कांग्रेस र एमालेका वडाध्यक्ष छन् । ‘हाम्रोमा सदस्यको संख्या ४७ हो, गाउँसभामा २० जनामात्रै उपस्थित हुनुभयो, बहुमत पुगेन र स्थगित भयो’, उनले भने, ‘बजेटका लागि मंगलबार गाउँसभा डाकिएको छ ।’ 

कुश्मा नगरपालिकाकी उपमेयर स्वस्थानी रिजालले केही प्रक्रिया मिलाउँन ढिला हुँदा बजेट ल्याउन नसकेको बताइन् । ‘असार १० मै बजेट ल्याउनुपर्ने हो । त्यसको तयारी सुरुदेखि नै गरेका थियौं,’ उपमेयर स्वस्थानी रिजाल भन्छिन्, ‘हामीबीच केही आन्तरिक मतभेद रहे । केही दिनमै विवाद समाधान गरेर बजेट ल्याउँछौं ।’ 

पवर्तकै फलेबास नगरपालिकामा भने एउटा कार्यक्रमले विवाद सिर्जना भएपछि नगरसभा नै स्थगित भयो । नगरपालिकाले यसअघि सञ्चालनमा ल्याएको ‘क्लिन फलेवास, ग्रिन फलेवास’ कार्यक्रमलाई निरन्तरता दिनुपर्ने एमाले निकट जनप्रतिनिधिको माग छ भने कांग्रेसनिकट जनप्रतिनिधिले उक्त कार्यक्रम हटाउनुपर्ने अडान लिएका छन् । सभा स्थगीत भएपछि अर्को बैठकको टुंगो लागेको छैन । 
 


Author

थप समाचार
x