गण्डकी

फेवाताल किनारमा ड्रागन फेस्टिभलको रौनक (फोटोसहित)

धनबहादुर गुरुङ |
असार ८, २०८० शुक्रबार २१:५७ बजे

पोखरा- फेवाताल किनारको क्याम्पिङ चोकमा भएको औपचारिक कार्यक्रम सकियो । स्टेजमा बसेका पाहुनाहरू फेवातालतिर लागे । त्यहाँ तैनाथी राखिएको थियो, ‘चिनियाँ ड्रागन बोट’ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले डुंगामा पूजा गरे । अनि सुरु भयो, डुंगा दौड । 

किनारमा ८ वटा डुंगा थिए । ती डुंगा ड्रागनको आकारमा सजाइएको थियो । डुंगाको एउटा छेउमा बाजा राखिएको थियो । अर्को छेउमा डुंगालाई दिशा पत्ता लगाउन बाना राखिएको थियो । कलात्मक डुंगा एउटामा १२ जना सवार भए । छेउमा एक जनाले बाजा बजाउन सुरु गरे अनि बीचमा बसेका १० जनाले बाना खियाउन थाले । अर्को छेउमा बसेका एक जनाले डुंगालाई दिशा दिन थाले । यसरी आठ वटै डुंगा चल्न सुरु भयो । छेउमा बसेका दर्शकहरू हुटिङ गर्न सुरु गरे । 


ती डुंगामध्ये नेपालीहरू अघि हुँदा किनारका नेपालीहरू हात हल्लाउँदै हुटिङ गर्थे । अनि चिनियाँ टोली अगाडि बढ्दा चिनियाँ समर्थक चिच्याउँथे । यो गतिविधि फेवा किनारमा करिब १ घण्टा चल्यो । त्यो बाहेक खेलाडीहरू विश्राम गर्दा स्टेजमा सांस्कृतिक कार्यक्रम सुरु भइहाल्थ्यो । यसरी नै शुक्रबार पहिलो चरणका खेल सकियो । दर्शकहरू निकै रमाए । शनिबार फाइनल खेल हुने भन्दै सबैलाई निमन्त्रणा गरी पहिलो दिनको कार्यक्रम सकियो । 

शनिबार ९ बजेदेखि नै प्रतियोगिता सुरु हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताको टुंगो पनि शनिबार नै लाग्नेछ । विजेता टोलीलाई पुरस्कार प्रदान गरी ‘नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सकिनेछ । तर, यसको प्रभाव निकै लामो समयसम्म रहने आयोजकको विश्वास छ । 

शुक्रबार प्रतियोगिता सुरु हुनुभन्दा अघि भएको औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फेस्टिभलले नेपाल र चीनबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउने बताए । उनले नेपाल र चीन बीचको सम्बन्ध सम्राट अशोक र भृकुटीको पालादेखि रहेको बताउँदै उनले भने, ‘न नेपालले सम्राट अशोकलाई बिर्सन सक्छ नत चीनले भृकुटी र अरनिकोलाई बिर्सन सक्छ । यो त हाम्रो सदियौंदेखिको सम्बन्ध हो । यो सम्बन्ध बरु थप बलियो र सुमधुर हुँदै जान्छ ।’

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीनको परम्परागत फेस्टिभल नेपालमा ल्याउँदा सांस्कृतिक सम्बन्ध स्थापित गर्न मद्दत पुगेको बताए । ‘जनता जनताबीचको सम्बन्ध स्थापित गर्न सघाउ पुग्नेमा विश्वस्त छु,’ उनले भने । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले लगायतले फेस्टिभलले नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने बताए ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल भएको हो । यसको सह आयोजकमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसन रहेका छन् । बोट रेस सहित फेष्टिभवलमा होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसियशन तथा अन्य संस्थाहरूले सहकार्य गरेका छन् ।

ड्रागन बोट रेसमा नेपालको २ टिम सेमिफाइनल प्रवेश

नेपाल-चीन फ्रेण्डसिप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दिनको खेलबाट नेपालको दुई टोली सेमिफाइनल चरणमा प्रवेश गरेका छन् । पहिलो दिन भएको दुई चरणको प्रतिस्पर्धाबाट नेपालको दुई र चिनको दुई टोली सेमिफाइनल चरणमा प्रवेश गरेको प्रतियोगिताका प्राविधिक प्रमुख मिनबहादुर मगरले जानकारी दिए । शुक्रबार दुई र पाँच सय मिटर गरी दुई विधामा दौड भएको थियो । 

नेपालको नेपाल र्याफ्टीङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए) र नेपाल एसोसियसन अफ र्याफ्टीङ एजेन्सिज (नारा) फाइनल चरणमा प्रवेश गरेको छ । चिनको सिचुवाङ ड्रागन बोट समूह र युनान ड्रागन बोट समूह पनि फाइनल चरणमा पुगेको छ । दुई सय र पाँच सय दुवै विधामा यि चार समूह फाइनल चरणमा प्रवेश गरेको प्रतियोगिताका प्राविधिक प्रमुख मगरले जानकारी दिए ।

पहिलो दिनको खेलबाट चाइना नेपाल फ्रेण्डसिप समूह, पोखरा महानगरपालिकाको समूह, सिंगापुरको जि.एस. ड्रागन समूह र फेवा डुङ्गा व्यवसायीको समूह बाहिरिएको प्रतियोगिताका प्रविधिक मगरले बताए ।

प्रतियोगितामा पाँच सय मिटरको विजेता टिमलाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार  द्वितीय र तृतीयलाई क्रमश: तीख लाख र दुई लाख रुपैयाँ प्रदान गरिनेछ । 

दुई सय मिटर बोट रेसको विजेताले नगद तीन लाख रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष पौडेलले बताए । सोही विधामा द्वितीयले दुई लाख र तृतीयले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उनका अनुसार कुनै प्रायोजक भेटिएमा पुरस्कार राशि वृद्धि पनि हुनेछ । ‘हामीले अहिलेलाई पाँच सय मिटरमा पाँच, तीन र दुई लाख अनि दुई सय मिटरका लागि तीन, दुई र एक लाख रुपैयाँ दिने निर्णय गरेका छौं,’ उनले भने, ‘कुनै स्पोन्सर भेटियो भने यो पुरस्कार राशि अझै बढ्न सक्छ ।’


Author

थप समाचार
x