गण्डकी

गण्डकी बजेट

शीर्षकमै सीमित कृषि र स्वास्थ्य, सरकारको प्राथमिकतामा भौतिक पूर्वाधार

धनबहादुर गुरुङ |
असार २, २०८० शनिबार २०:५७ बजे

पोखरा- गण्डकी प्रदेश अर्थमन्त्री जीतप्रकाश आलेले शुक्रबार गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पेस गरे ।  बजेट वक्तव्य अनुसार आगामी आर्थिक वर्षका लागि गण्डकीमा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट पेस भएको छ । बजेटको शीर्षकमा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा प्राथमिकतामा देखिएको छ । तर, बजेट अनुसारको पैसा पूर्वाधारमा भेटिएको छ ।

नीति तथा कार्यक्रमदेखि नै गण्डकीको बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकता दिने निकै चर्चा चल्यो । बजेटका सिद्धान्त र प्राथमिकतामा कृषि र स्वास्थ्यले राम्रो ठाउँ पाएको थियो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि अहिलेको अवस्थामा तत्कालै ठूला उद्योग सञ्चालन गर्न सक्ने अवस्था नभएकोले कृषिबाटै प्रदेशको समुन्नति हुने निष्कर्षमा पुगेका थिए ।  


तर, बजेटसम्म आइपुग्दा सरकारको प्राथमिकता पुनः सडक र अन्य भौतिक पूर्वाधारमा नै केन्द्रित भएको छ । मन्त्रालयगत बजेट विनियोजनमा कृषि र स्वास्थ्यले अपेक्षाकृत ठाउँ पाएको छैन । चालु वर्षमा कार्यान्वयनमा रहेको बजेटको तुलनामा यिनै २ मन्त्रालयबाट सबैभन्दा धेरै बजेट कटौती गरिएको छ ।

कृषि मन्त्रालयमा मात्रै ३२ करोड बजेट घटाएको छ भने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट ७५ करोड घटेको छ । कृषिको चालु बजेट २ अर्ब ५३ करोड छ, आगामी वर्षका लागि २ अर्ब २१ करोड छुट्याइएको छ । सामाजिक विकास तथा स्वास्थ्यको चालु बजेट ५ अर्ब ८० करोड रहेकोमा आगामी बजेट ५ अर्ब ५ करोड मात्रै छ ।

सबैभन्दा ठूलो हिस्सा लिएर बसेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट ५४ करोड मात्रै घटेको छ । चालु वर्षमा भौतिकले १३ अर्ब ५ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी वर्षका लागि १२ अर्ब ५१ करोडको बजेट हिस्सा भौतिकलाई दिइएको छ ।

आगामी वर्ष मुख्यमन्त्री कार्यालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बजेट बढेको छ । मुख्यमन्त्री कार्यालयमा साविकको आन्तरिक मामिला र सञ्चार मन्त्रालय गाभिएका कारण पनि बजेटको आकार बढेको हो । 
 


Author

थप समाचार
x