गण्डकी

गण्डकीमा ३३ अर्ब आसपासको बजेट ल्याउने तयारी

धनबहादुर गुरुङ |
जेठ ३१, २०८० बुधबार १०:१५ बजे

पोखरा- गण्डकी प्रदेश यतिबेला आर्थिक वर्ष २०८०/०८१ को बजेट तयारीमा छ । यसका लागि जेठ २१ गते गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा नीति तथा कार्यत्र    mम पेश गरी छलफलपछि पास भईसकेको छ । 

जेठ २५ गते नीति तथा कार्यक्रम सदनबाट पास भएपछि गण्डकीमा बजेटको तयारी तीब्र बनेको छ । सीमित स्रोत, आम्दानीको साँघुरो बाटो, नागरिकका असीमित चाहनाबीच प्रदेशहरु दबाबमै रहेर बजेट बनाइरहेका छन् । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले पनि गण्डकी सरकारसँग बजेट निर्माणका लागि समय धेरै छैन । 


आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आवको बजेट सानो हुने निश्चित नै छ । चालु आवमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा संघ सरकारले आगामी आवका लागि ३३ अर्ब ८५ करोडको सीमा तोकिदिएको छ । गण्डकीले यही सीमाभित्र रहेर ३३ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको अर्थमन्त्री जीतप्रकाश आलेले जानकारी दिए । 

चालु आवमा कर तथा राजस्वबाट ११ अर्ब ३४ करोड ३७ लाख उठाउने लक्ष्य लिइएकामा ४ जेठसम्म ५ अर्ब ८९ करोड ३९ लाख १८ हजारमात्र राजस्व उठेको छ ।

आन्तरिक राजस्वतर्फ ५ अर्ब ९ करोड १६ लाखको लक्ष्य रहेकामा हालसम्म ५० प्रतिशतमात्र संकलन भएको छ । घरजग्गालगायत कारोबारमा मन्दी आउँदा राजस्व कम उठेको हो । संघ सरकारले दिने समानीकरण अनुदान पनि यो वर्ष १ अर्ब घटेको छ ।

सोही कारण पनि प्रदेशको बजेट घट्ने आंकलन गरिएको छ । अर्थमन्त्री आलेले बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको बताइरहँदा कृषि सिलिङ भने चालु आवको भन्दा बढाइएको छ । किसानलाई दिने गरेको अनुदान कटौती गरी उत्पादनमा आधारित अनुदान दिने तयारीमा सरकार जुटेको छ । बजेटको ओइरो भौतिक पूर्वाधार मन्त्रालयमै हुनेछ । जसमा बहुवर्षे योजनाको दायित्व अधिक छ ।

यता भौतिक मन्त्रालयले यो वर्ष ३० लाख रुपैयाँभन्दा कमका योजना नराख्ने बताएको छ । आवश्यकता पहिचान गरेरमात्र विकास योजना तर्जुमा गरिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए । 
 


Author

थप समाचार
x