गण्डकी

गण्डकी सरकार विस्तारमा ढिलाइ

धनबहादुर गुरुङ |
बैशाख २५, २०८० सोमबार २१:२७ बजे

पोखरा- केन्द्रीय राजनीतिको फेरबदलसँगै प्रदेशमा पनि त्यसको प्रभाव पर्यो । सोही अनुसार अल्पमतमा परेको नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले वैशाख ९ गते विश्वासको मत पाएनन् । अधिकारी सरकार ढलेको पाँच दिनमा गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भए ।

वैशाख १४ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले नियुक्ति पाएर शपथ लिएको दिन नै पत्रकारसँग भनेका थिए, ‘मन्त्रालय संख्या ७ नै रहन्छ, मन्त्रिपरिषद् एक साताभित्र पूर्ण हुन्छ ।’


उनले वैशाख १५ गते शपथ लिए । सो समयमा मुख्यमन्त्री पाण्डेसँगै नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादी केन्द्रबाट शुशीला सिंखडाले विनाविभागीय मन्त्रीका हैसियतमा शपथ लिएका थिए । शपथपछि पदभार ग्रहण गर्ने समयमा पनि उनले १ हप्तामै मन्त्रिपरिषद् विस्तार हुने दोहोर्याएका थिए ।

उनले एक हप्तामा सरकार विस्तार गर्ने भन्दा पनि विश्वासको मत लिए । वैशाख २१ गते विश्वासको मत पाए । त्यतिबेला पनि पत्रकारले सरकार विस्तारमा भएको ढिलाइप्रति प्रश्न गरे । उनको उत्तर थियो, ‘२२ र २३ बिदा परेको छ । मैले लगेको बुझाउने ठाउँ नै छैन । दुई दिन बिदाको ग्रेस अनि विस्तार हुन्छ ।' उनले विश्वासको मत लिएको ५ दिन बित्दा पनि गण्डकीको सरकार विस्तारमा विलम्ब कायमै छ ।

प्रदेशमा हाल कायम सात मन्त्रालयमध्ये दुई मन्त्रालय माओवादीलाई दिएर पाँच आफैँ राख्ने सोचमा मुख्यमन्त्री छन् । यसका लागि मन्त्रालयको भागबन्डा समेत मिलिसकेको छ । अहिले एकीकृत समाजवादीले पनि एक मन्त्री मागेको छ । माओवादीले दुई सिटमै चित्त बुझाउने भए पनि मुख्यमन्त्री पाण्डेलाई आफ्नै दलभित्रको सन्तुलन मिलाउन अप्ठेरो परेको छ ।

काम गर्न सक्ने र युवा पंक्तिलाई मन्त्री बनाउने सोचमा मुख्यमन्त्री रहे पनि केन्द्रका नेताहरूको दबाब उनलाई भारी परेको छ । पाण्डे निकट एक सांसदले भने, ‘मुख्यमन्त्रीज्यू देखिने काम गर्न सक्नेलाई ल्याउने भन्नुहुन्छ, माथिबाट दबाब भने अर्कोतिरबाट आउँछ ।’ पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले स्याङ्जाकी सरस्वती अर्याल तिवारीलाई मन्त्री बनाएपछि दलको नेतामा पाण्डेसँगै भिडेका भोजराज अर्यालको बाटो छेकिएको छ । अब संस्थापन इतर समूहबाट नवलपुरका महेन्द्रध्वज जिसीको नाम अग्र पंक्तिमा छ ।

पहिला मन्त्री भएकालाई नदोहोर्याउने भन्दै कास्कीका बिन्दुकुमार थापाको बाटो छेकिएपछि कास्कीका बाँकी दुई सांसदको पनि सम्भावना देखिएको छैन ।

मजुङका डा. टकराज गुरुङको नाम मन्त्रीका लागि निकै सुनिएको छ । साविक धवलागिरीबाट बागलुङका जीत शेरचनको नाम चर्चामा रहे पनि निधो भने भएको छैन । तनहुँका जीतप्रकाश आले पनि मन्त्रीका लागि उस्तै लबिङ गरिरहेका छन् ।

मन्त्रालय र मन्त्रीको टुंगो लगाउनुका साथै संघको बजेटमा राख्ने ठूला योजनाको सूची बुझाउन उनी आइतबार साँझ काठमाडौँ पुगेका थिए । 


 


Author

थप समाचार
x