गण्डकी

पोखराका मेयर र उपमेयर विदेश भ्रमणमा, प्रवक्तालाई कार्यवाहक

धनबहादुर गुरुङ |
बैशाख ७, २०८० बिहीबार २०:३८ बजे

पोखरा- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङ विदेश भ्रमणमा छन् । उपमेयर गुरुङ तीन दिनअघि नै बेलायत प्रस्थान गरेकी छिन् । भने, मेयर आचार्य शुक्रबार जापान जाँदैछन् । यो अवस्थामा पोखरा प्रमुख र उपप्रमुखविहीन बनेको छ । मेयरको बिहीबार बिदाई गरिसकिएको छ । 
यो अवस्थामा पोखराको मेयर र उपमेयर दुवैका जिम्मेवारी प्रवक्ता तथा पोखरा २५ का वडाध्यक्ष मोति तिमिल्सिनाले पाएका छन्

प्रमुख र उपप्रमुख दुवै जना विदेश भ्रमणमा गएपछि आफूलाई कार्यवाहकको जिम्मेवारी दिइएको तिमिल्सिनाले जानकारी दिए । ‘उपमेयर ज्यू ३ दिन अघि नै जानुभएको हो । मेयर सा’ब आज बिदाई हुनुभएको छ । कार्यवाहकको जिम्मेवारी मलाई दिनुभएको छ,’ कार्यवाहक मेयर तिमिल्सिनाले भने, ‘करिब ९/१० दिन जिम्मेवारीमा रहने हो । मेयर सा’बले दिनुभएको अधिकार लिएर महानगरको नीति नियममा रहेर काम गर्नेछु । यो बीचमा महत्वपूर्ण निर्णयहरू हुँदैनन् । दैनिक कार्य सञ्चालनका कामहरू हुन्छ ।’


तीन दिनअघि बेलायत गएकी उपमेयर गुरुङ बेलायतस्थित तमु धिं यूके लगायत विभिन्न सरकारी तथा अन्य संघ संस्थाहरूको औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी हुन गएकी हुन् । उनी तीन साता लामो भ्रमणका लागि बेलायत गएकी हुन् ।

मेयर आचार्य जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा जापान जान लागेका हुन् । उनी शुक्रबार नेपाल एयर लाइन्सको विमान मार्फत जापान जाने छन् । जाइकाको सहयोगमा पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर समेत तयार भइसकेकाले सो परियोजना सञ्चालनका सम्बन्धमा सम्झौता गर्न प्रमुख आचार्य जापान जान लागेका हुन् ।

प्रमुख आचार्यको नेतृत्वमा जापान जान लागेको सात सदस्यीय टोलीमा ३ जना इन्जिनियरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठ र खानेपानी मन्त्रालयकी सहसचिव मैना श्रेष्ठ समेत छिन् । पोखरा महानगरपालिकाको तर्फबाट इन्जिनियर विवेककुमार क्षेत्री यसअघि नै जापान गइसकेका छन् । मेयर आचार्य १५ गतेसम्म जापान मै रहने छन् ।


Author

थप समाचार
x