गण्डकी

गण्डकीमा ८ महिनामा ‘अफ्रिकन स्वाइन फिभर’ले १६ हजार बंगुर मरे

धनबहादुर गुरुङ |
बैशाख ४, २०८० सोमबार २१:३८ बजे

फाइल तस्बिर

पोखरा- गण्डकी प्रदेशमा यो आर्थिक वर्षको ८ महिनामा ‘अफ्रिकन स्वाइन फिभर’ ले १६ हजार ४ सय ४२ बंगुर मरेको तथ्यांक सार्वजनिक भएको छ । फागुन मसान्तसम्मको तथ्यांकमा गण्डकीमा सो संख्यामा बंगुरका माउबच्चा मरेका हुन् । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो चौमासिक प्रगति समीक्षा गोष्ठीमा यो तथ्यांक सार्वजनिक गरिएको हो ।

यो तथ्यांक गण्डकीका कास्की, तनहुँ, म्याग्दी, नवलपुर, स्याङ्जा र लमजुङ जिल्लाको हो । जसमा कास्कीमा मात्र १५ हजार ३ सय ३३ बंगुर मरेका छन् । यस्तै तनहुँमा २०, म्याग्दीमा ७ सय २९, नवलपुरमा २१, स्याङ्जामा २ सय १ र लमजुङमा १ सय ४९ बंगुर मरेका छन् ।


‘अफ्रिकन स्वाइन फिभर’ ले बंगुरमा धेरै क्षति पुगेको निर्देशनालयका पशु चिकित्सक डा. राजेशकुमार चौधरीले जानकारी दिए । ‘यो यस्तो महामारी रोग हो कि लागेपछि सतप्रतिशत बंगुर मर्छ,’ उनले भने, ‘यो भाइरल रोग भएकाले कुनै उपचार पनि छैन । त्यही कारण पनि धेरै क्षति व्यहोर्नुपर्‍यो ।’ यसले बंगुरबाहेक अरुलाई असर नगर्ने भएकाले मान्छे डराउनुपर्ने अवस्था नरहेको उनले सुनाए ।

फर्मका बंगुर भकाभक मर्न थालेपछि यस क्षेत्रका किसानहरू चिन्तामा छन् । पोखरा १४ की सन्तोषी तामाङले सञ्चालन गरेको एस्थर बंगुर तथा कृषि फर्ममा अहिले चहलपहल शून्य छ । कात्तिक अन्तिमतिर उनको बंगुर फर्मका बंगुर एकाएक मरेपछि उनी चिन्तामा छिन् । बंगुर मरेको सूचना पाएपछि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशको टिम गएर टिपोट गरेको तर, कुनै सहयोग नभएको उनको गुनासो छ । उनको फर्मबाट साना ठूला गरी ९३ वटा बंगुर मरेको तथ्यांक छ ।

‘जिल्लाबाट अनुगमनमा आउनुभएकाहरूलाई विवरण बुझायौं । त्यही बेला हामीलाई केही सहयोग होला नि भनेर सोधेका थियौं,’ उनले भनिन्, ‘उहाँहरूले पनि मन्त्रालयमा पठाउने हो । उताबाट के हुन्छ पछि नै थाहा हुन्छ भन्ने कुरा गर्नुभयो ।’ 

साना ठूला मरेका सबै बंगुर र पालेको लागतसहित १५ लाखभन्दा बढि घाटा लागेको उनले बताइन् । अहिले के गर्ने के नगर्ने दुविधामा रहेको उनको गुनासो छ । ‘अहिले केही गर्ने मेसो पाएको छैन् । बंगुर नै पाल्ने कि अरु खेती गर्ने भन्ने दोधारमा छु,’ उनले भनिन्, ‘त्यत्रो क्षति भएको छ । सरकारले केही राहत दिएनि हुने हो । खै अहिलेसम्म केही खबर भएको छैन ।’

‘अफ्रिकन स्वाइन फिभर’को उपचार नभए पनि फैलिन नदिनका लागि जनचेतना फैलाउने र सतर्क बनाउने काम गरेको निर्देशनालयका पशु चिकित्सक डा. राजेशकुमार चौधरीले जानकारी दिए । रोग गण्डकीमा पनि देखिएपछि बंगुरको संख्या नबढाउन आग्रह गरिएको थियो । सावधानी अपनाउँदा अपनाउँदै धेरै बंगुर मरेकाले गण्डकी प्रदेशलाई नै असर गरेको उनले सुनाए । ‘हामी बंगुरमा आत्मनिर्भर हुँदै थियौं । बंगुरमा हामी कोशी र लुम्बिनी प्रदेशपछि तेस्रो नम्बरमा थियौं,’ उनले भने, ‘यसले ठूलो असर पारेको छ ।’ 

डा. चौधरीले राहतका लागि सरकारसँग पहल भइरहेको बताए । ‘तुरुन्त राहत दिनका लागि हामी सँगै स्रोत छैन । त्यसका लागि छुट्टै बजेट छुट्याउनुपर्छ । यसमा पहल भइरहेको छ,’ उनले भने, ‘सबैलाई राहत दिन अर्ब पैसाले पनि नपुग्ने जस्तो अवस्था छ तर हामीले पुनःस्थापनाका लागि केही सोचिरहेका छौं ।’


 


Author

थप समाचार
x