गण्डकी

संकटमा पद, मुख्यमन्त्री उद्घाटनमा व्यस्त

धनबहादुर गुरुङ |
चैत २६, २०७९ आइतबार ७:४३ बजे

पोखरा - गण्डकीमा माओवादी केन्द्रले समर्थन छोडेपछि अल्पमतमा परेको सरकारका मुख्यमन्त्री खगराज अधिकारी पछिल्लो समय निकै व्यस्त हुन थालेका छन् । उनको व्यस्तता अहिले निकै बढेको हो । कार्यकाल अब बढीमा १५ दिन छ ।

चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि वैशाख १० गतेभित्र उनले विश्वासको मत लिनुपर्छ । मत नपाए उनको सरकार स्वतः ढल्छ । प्रदेश सभाको प्रमुख दल मध्येको माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत पाउने कुनै सम्भावना न्यून प्राय: छ । यो अवस्थामा रकमान्तरगरी नयाँ योजना थप्ने र आफ्नो क्षेत्रका योजनालाई बहुवर्षेमा लैजान मुख्यमन्त्री र उनका मन्त्रीहरू तल्लीन छन् । 


कार्यकालको उत्तरार्द्ध भएर अधिकारीले जतिसक्दो धेरै योजनाहरूमा आफ्नो नाम र उपस्थिति देखाउन चाहेको देखिन्छ । सोही कारण उनी शनिबारको दिन उद्घाटनमा व्यस्त रहे ।

उनले शनिबार मात्रै पाँच वटा योजनाको उद्घाटन गरेका छन् । शुक्रबार सराङकोटको स्वास्थ्य चौकीमा प्रसूति कक्ष उद्घाटन गरेका थिए । 

शनिबार बिहान ८ बजेदेखिको उनको व्यस्तता दिनभर जारी रह्यो । इदीखोलामा निर्माण भएको पुल बिहान पौने ८ बजे उद्घाटन भयो । पौने ९ बजे वार्दी खोला पुल, त्यसपछि मकैखोलाको पुल, त्यसलगत्तै घुम्लेस्थित मादी नदी माथिको पुल उद्घाटन गरे । त्यतिमात्रैमा सीमित भएन कार्यक्रम, पोखरा ३२ र शुक्लागण्डकी १ जोड्ने खुदीखोला पुल पनि निकै उद्घाटन गरे । उनी सबै कार्यक्रमको प्रमुख अतिथि थिए ।  

उनले उद्घाटन गरेका पुलहरू यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आएका हुन् । अधिकारीले शनिबार उद्घाटन गरेका पुलहरू करिब १ वर्षअघि नै निर्माण सकिएर सञ्चालनमा आएका छन् । मकैखोला पुल २०७८ फागुन २१ गते निर्माण सकिएको हो । खुदी खोलाको पुल अघिल्लो वर्षको चैत ३० गते सकिएको थियो ।

घुम्लेको पुल पनि ६ महिनाअघि नै पूरा भएर सञ्चालनमा आएको छ । इदीखोलाको पुल गत असारमा सकिएको हो भने वार्दीखोलाको पुल अघिल्लो वर्षको असोज २८ मै सकिएको थियो । 

पुल उद्घाटनमा बोल्दै मुख्यमन्त्री अधिकारीले गाउँमा विकासले फड्को मारेको बताए । ‘कसैले नचिताएको ठाउँमा पुल बनेको छ । सडक बनेको छ,’ उनले भने, ‘अब यही सडक र पुलको प्रयोग गरी गाउँका उत्पादन बजार लैजानुपर्छ ।’


Author

थप समाचार
x