गण्डकी

पोखरामै भयो मुखको क्यान्सरको सफल शल्यक्रिया

धनबहादुर गुरुङ |
फागुन १३, २०७९ शनिबार २०:५८ बजे

पोखरा- पोखरामा २८ वर्षअघिसम्म मुखभित्रको क्यान्सरको शल्यक्रिया हुन्थ्यो । ५० को दशकमा युकेका डा. ब्रुस रिचार्डको टिमले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जटिल शल्यक्रिया गर्थ्यो । त्यसपछि डा. रिचार्डको टिम बिदाई भएसँगै शल्यक्रियाको काम ठप्प थियो ।

मुखमा क्यान्सर भएका बिरामी अन्यत्र जानुपर्ने जानुपर्ने बाध्यता थियो । जटिल काम भएकाले शल्यक्रिया गर्न कसैले आँट गर्दैनथे । तर, पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै त्यो सम्भव भएको छ । केही समयअघि अस्पताल प्रशासनले माइक्रोस्कोप भित्र्यायो । एक वर्षअघि अनुहारको सर्जरी (म्याग्जिलोफेसियल) सुरु गर्‍यो । त्यसपछि ६ महिनाअघि प्लास्टिक सर्जरीको सुविधा ल्यायो । यी सबै प्रविधि र दक्ष जनशक्ति भएपछि मुखभित्रको क्यान्सरको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।


पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पर्वत जिल्लाका ५४ वर्षे पुरुषको मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया गरी ३० वर्षपछि पुनः यो सेवा सुरु गरिएको उनले जानकारी दिए । यसबारेमा अस्पताल प्रशासनले नै शुक्रबार विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ । प्लाष्टिक सर्जन डा. पीयूष गिरीसहितको टिम र म्याग्जिलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेसहितको दन्त चिकित्सकको टोलीले पर्वतका ५४ वर्षीय पुरुषको शल्यक्रिया गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत २९ माघमा ती पुरुषको तेस्रो स्टेजको क्यान्सर शल्यक्रिया विधिबाट हटाएर बिरामीकै बायाँ हातको मासु प्रत्यारोपण गरिएको थियो । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीका अनुसार सफल शल्यक्रिया भएका बिरामी फागुन ७ गते डिस्चार्ज भएर घर गइसकेका छन् । तेस्रो स्टेजमा पुगिसकेको क्यान्सरको शल्यक्रिया म्याग्जिलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेको टोलीले लगातार १० घन्टाको मेहनतपछि सफल भएको थियो ।

मुखभित्र घाउ भएको ठाउँ शल्यक्रिया गरी फालेर उनकै बायाँ हातको मासु प्रत्यारोपण गरिएको निर्देशक खत्रीले बताए । ‘मुखमा क्यान्सर भएपछि खान नमिल्ने भयो । मुखको पार्ट नै गएपछि भर्नुपर्‍यो । यतिकै राख्दा नराम्रो देखिने भयो,’ उनले भने, ‘त्यसका लागि कुनै स्थानबाट मासु लगेर भर्नुपर्‍यो ।’

पहिलेदेखि नै दिँदै आएको सेवा पुनः सुरु गरेपछि बिरामीले पोखरामा सेवा पाउने डा. खत्रीले बताए ।


Author

थप समाचार
x