गण्डकी

केन्द्रको राजनीतिले गण्डकी प्रदेश सरकार अल्पमतमा

राप्रपाका मन्त्रीले भोलि राजीनामा दिँदै

धनबहादुर गुरुङ |
फागुन १३, २०७९ शनिबार २०:२१ बजे

पोखरा- केन्द्रको राजनीतिले गण्डकी सरकार अल्पमतमा पर्ने भएको छ । केन्द्रीय राजनीतिमा उतारचढाव आउँदा गण्डकी प्रदेश सरकार गठन भएको दुई महिना नबित्दै धर्मराएको छ । पुस २५ गते माओवादी र राप्रपाको साथ लिएर मुख्मन्त्री नियुक्त भएका खगराज अधिकारी नेतृत्वको सरकार ढल्ने संघारमा पुगेको हो । 

केन्द्रीय समीकरणका कारण राप्रपाले केन्द्रमा सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिएको छ । पार्टीको निर्णय अनुसार गण्डकी प्रदेशमा पनि राप्रपाले साथ छोड्दैछ । राप्रपाबाट गण्डकी प्रदेशमा पञ्चराम गुरुङले आइतबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने बताएका छन् ।


‘आइतबार राजीनामा दिन्छु,’ उनले भने, ‘हामी केन्द्रीय निर्णय अनुसार नै चल्ने भएकोले हाम्रो छुट्टै निर्णय हुँदैन । प्रदेश पनि केन्द्र जस्तै हो ।’ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मा पाएका उनले राजीनामा दिएमा प्रदेश सरकारमा अल्पमतमा पर्छ ।

एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसदसहित ३२ पुर्‍याएर गठन भएको गण्डकी सरकारबाट राप्रपा बाहिरिएपछि अल्पमतमा पर्ने भएको हो । राप्रपाले समर्थन फिर्ता लिएसँगै अधिकारीसँग माओवादी समेतको ३० सिट छ । एकजना माओवादीबाटै सभामुख निर्वाचित भएका छन् ।

संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले नेतृत्व गर्ने दल विभाजित भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

केन्द्रको समीकरण हेर्दा माओवादी समेत फरक गठबन्धनमा जुटेको छ । त्यसो हुँदा गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकार ढलेर नयाँ सरकार बन्छ । ६० सदस्यीय प्रदेश सभामा २७ सिटसहित नेपाली कांग्रेस पहिलो दल छ भने दोश्रो दल नेकपा एमालेसँग २२, माओवादीसँग ८ र राप्रपासँग २ सिट छ । मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

गण्डकीमा अहिलेको सरकार ढले संविधानको धारा १६८ उपधारा (३) अनुसार कांग्रेस नेतृत्वमा सरकार बन्छ । गण्डकीमा ठूलो दल नेपाली कांग्रेसबाट सुरेन्द्रराज पाण्डे दलका नेता चुनिएका छन् ।


Author

थप समाचार
x