गण्डकी

गण्डकीमा कर्मचारीतर्फ मनमाया र कार्यालयमा कृषि ज्ञान केन्द्र पर्वत उत्कृष्ट

धनबहादुर गुरुङ |
फागुन ५, २०७९ शुक्रबार २१:४० बजे

पोखरा- गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारी र कार्यालय छनोट गरी पुरस्कृत गर्दै आएको छ ।

प्रदेश निजामती सेवा अध्यादेश २०७९ को दफा ११३ अनुसार सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कारका लागि कर्मचारी छनोट गर्छ । भने, नमुना कार्यालय छनोट कार्यविधि २०७८ बमोजिम प्रदेश सरकारले प्रदेश मातहतका कार्यालयहरू मध्ये उत्कृष्ट कार्यालय हुँदै आएका छन् । प्रदेश सरकारको स्थापना दिवसको अवसरमा घोषणा गरिएको पुरस्कार पछि कुनै एक समारोहमा वितरण गर्दै आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एक जनालाई सर्वोत्कृष्ट, तीन जनालाई उत्कृष्ट र छ जनालाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिनेछ ।


यस वर्ष गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कारका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया भट्टराई पंगेनी छनोट भएकी छिन् । उनीसँगै अन्य विधामा १० कर्मचारीको नाम स्थापना दिवसका दिन सार्वजनिक गरिएको छ । सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार पाउने सचिव मनमाया भट्टराई पंगेनीले रु एक लाख पुरस्कार प्राप्त गर्नेछिन् ।

उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारका लागि लमजुङ डिभिजन वन कार्यालयका अधिकृत पूर्णेश्वर सुवेदी, कास्की यातायात व्यवस्था कार्यालयका अधिकृत डिल्लीराम रिजाल र मनाङ स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्य छनोट भएका छन् । उत्कृष्टतर्फको पुरस्कार राशि जनही रु ७५ हजार रहेको छ ।

यस्तै प्रदेश निजमती सेवा पुरस्कारबाट यस वर्ष पोखरास्थित प्रदेश संग्राहलयका अधिकृत करुणा राई, मुस्ताङ पूर्वाधार विकास कार्यालयका इञ्जिनियर विवेक सिग्देल, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयका अधिकृत अनिल सुवेदी, आर्थिक मामिला मन्त्रालयका अधिकृत रामेश्वर ढुङ्गाना, प्रदेश लोकसेवा आयोगका सहायक पाँचौँ तहमा कार्यरत विष्णु पोखरेल पौडेल र गण्डकी प्रदेशसभा सचिवालयका सूर्यबहादुर बानियाँ रहेका छन् । उनीहरूले जनही रु ५० हजारको नगद पुरस्कार पाउनेछन् ।

यसैगरी कार्यालयतर्फ कार्यविधिमा भएको मापदण्डको सूचकका आधारमा ८९.१० प्रतिशत अंक ल्याई पर्वतको कृषि ज्ञान केन्द्र सर्वोत्कृष्ट कार्यालय छनोट भएको छ । 
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कास्की, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङ, डिभिजन बन कार्यालय, म्याग्दी, कृषि ज्ञान केन्द्र तनहुँ र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा उत्कृष्ट कार्यालय भएको छ । यस्तै लमजुङको कृषि ज्ञान केन्द्र, गोरखाको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, मुस्ताङको कृषि ज्ञान केन्द्र, मनाङको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नवलपुरबाट जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पनि उत्कृष्ट भएको छ । प्रदेशका कार्यालयमा कृषि विकास निर्देशनालय उत्कृष्ट भएको हो ।

उत्कृष्ट कर्मचारी र कार्यालयलाई गणतन्त्र दिवसका दिन पुरस्कार प्रदान गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।


Author

थप समाचार
x