गण्डकी

गण्डकी प्रदेश : कोही संघबाट प्रदेश झर्ने, कोही संघ ताक्ने

प्रदेशबाट संघ ताकेका को हुन् ?

धनबहादुर गुरुङ |
कात्तिक २२, २०७९ मंगलबार २०:३ बजे

पोखरा- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा अन्तर्गत गण्डकीको ३६ प्रदेश सभा प्रत्यक्षतर्फ २ सय ३५ जनाले प्रतिस्पर्धा गर्दैछन् । उनीहरू मध्ये धेरै ठाउँमा गठबन्धन र नेकपा एमाले मुख्य प्रतिस्पर्धामा छन् ।

मुख्य प्रतिस्पर्धी भनिएको पार्टीबाट केही प्रभावशाली नेताहरू संघबाट प्रदेश झरेका छन् । ती मध्ये सबैभन्दा अग्रस्थानमा एमाले नेता खगराज अधिकारी छन् । उनी पार्टीभित्र बलियो प्रभाव राख्छन् । उनी नेपाल सरकारका स्वास्थ्यमन्त्री बनिसकेका छन् । २०७४ को निर्वाचनपछि अधिकारी गृहमन्त्री बने । तर, राजनीतिक घटनाक्रमका कारण १३ दिनमै उनको पद खोसियो । उनै अधिकारी अहिले प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा प्रदेश सभामा प्रतिस्पर्धा गर्दैछन् । उनले कास्की १ (क) बाट उम्मेदवारी दिएका छन् । उनी गण्डकी प्रदेशमा नेकपा एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।


यस्तै कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे २०७४ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा विजयी भए । उनले २ वर्षको कार्यकाल सांसद भएर काम गरे । उनी पनि कांग्रेसभित्र प्रभावशाली नेता हुन् । उनी पनि अहिले मुख्यमन्त्रीको दाउमा प्रदेशमा झरेका छन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट उनले उम्मेदवारी दिए । 
माओवादी नेतृ अमृतादेवी थापामगर प्रतिनिधि सभा सांसद हुन् । उनी अहिले स्याङ्जा १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी छिन् । 

प्रदेशबाट संघ ताकेका को हुन् ? 

गण्डकी प्रदेशमा प्रतिनिधि सभा प्रत्यक्ष तर्फको १८ सिटमा १ सय ९६ ले प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रदेश सांसदहरू संघ ताक्ने पनि छन् । जसमा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यो चुनावमा संघको प्रतिस्पर्धामा छन् । गण्डकी कै पूर्व अर्थमन्त्री किरण गुरुङले अहिले संघ रोजेका छन् । तनहुँ २ (ख) बाट विजयी भएका उनी अहिले तनहुँ २ बाट उम्मेदवार बनेको छन् ।

कास्की ३ (क) बाट सांसद बनेका गण्डकीका बहालवाला अर्थमन्त्री रामजी बराल पनि संघतिर सोझिएका छन् । उनी कास्की ३ मा गठबन्धनबाट उम्मेदवार छन् । गोरखा १ (ख) का पूर्व सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पनि संघ रोजेका छन् । भने, कास्की १ (ख) का प्रदेश सांसद मनबहादुर गुरुङले अहिले कास्की १ बाटै संघको प्रतिस्पर्धा गर्ने भएका छन् ।


Author

थप समाचार
x