गण्डकी

नवौँ राष्ट्रिय खेलकुदमा ज्यान गुमाएका खेलाडीलाई सरकारले बिर्सिसकेको हो ?

धनबहादुर गुरुङ |
कात्तिक २०, २०७९ आइतबार १५:५६ बजे

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा ज्यान गुमाएको खेलाडीको परिवारलाई राष्ट्रले बिर्सिसकेको अनुभूति हुन थालेको छ । पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाएका खेलाडीका बारेमा सम्झाउन परिवारले गण्डकी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । 

घटना भएको लामो समय हुँदासम्म पनि सरकारले खोजी नगरेपछि स्व. निस्सिम थापाको परिवारले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ खेलका क्रममा ज्यान गुमाएका निस्सिम थापाको परिवारले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ज्ञापन पत्र बुझाएको हो । 


थापाको असोज ३० गते खेलकै क्रममा दुर्घटना भई ज्यान गएको थियो । त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगितामा सहभागी थापाको मृत्यु पश्चात् आयोजक संस्थाले दिवङ्गत थापालाई मानार्थ गोल्ड मेडल प्रदान गर्‍यो । उनको सम्मानमा पोखरा रङ्गशालामा अर्ध कदको सालिक निर्माणको घोषणासमेत गर्‍यो । तर घटना भएको यति दिन बितिसक्दा पनि सरकारी निकायबाट निस्सिमको परिवारमा कसैले सम्पर्क गरेको छैन । 

सोही कारण उनका आमाबुबा, हजुरआमा, मामा माइजूसहितका आफन्त गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई गुनासो सुनाउन पुगे । निस्सिमका आमाबाबु र आफन्तको त्यति ठूलो माग पनि छैन । देशको गौरवका लागि प्रतियोगितामा भाग लिँदा मृत्यु भएको एक युवाको योगदानको कदर होस् भन्ने हो । अनि आगामी दिन यस्ता लापरबाहीबाट अरू कसैले ज्यान गुमाउन नपरोस् भन्ने पनि हो । 

ज्यान गुमाएका खेलाडी थापालाई राष्ट्रिय सम्मान प्रदान गरी उनको अर्ध कदको सालिक निर्माण गरिने सम्बन्धमा भएको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन उनीहरूको माग छ । साथै, उनको फोटो प्रतिबिम्बका लागि परिवारसँग समन्वय गरिनुपर्ने माग थापा परिवारको छ । निस्सिमको नाममा ट्रस्ट स्थापना गरी प्रत्येक प्याराग्लाइडिङमा उत्कृष्ट योगदान गर्ने तथा प्याराग्लाइडिङमा उत्कृष्ट योगदान गर्ने तथा प्याराग्लाइडिङ दुर्घटनामा परेका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गर्न पनि माग गरिएको छ । 

‘ब्लुस्काइ टेकअफको स्थानमाथि पट्टिको भागमा हाल भवन निर्माण कार्य भइरहेको र जताततै फलामका रडहरू रहेको अवस्थामा आयोजकले यस किसिमको प्रतियोगिता सञ्चालन गर्नु आफैँमा अव्यवहारिक थियो,’ ज्ञापन पत्रमा भनिएको छ ।

दिवङ्गत खेलाडी थापाका लागि राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल एअर स्पोर्ट्स एसोसिएसन र नेपाल सरकारका तर्फबाट प्राप्त हुनुपर्ने बीमाबापतको रकम प्रदान गरिदिन बुबा प्रकाशले आग्रह गरे । ज्ञापन पत्रमा भनिएको छ, ‘थापाले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा प्याराग्लाइडिङमा पु¥याएको योगदान उल्लेख हुने गरी विद्यालय पाठ्यक्रममा उनको जीवनी समावेश गरियोस् ।’

प्याराग्लाइडिङका सबै टेकअफहरूमा २४ घन्टे सिसी क्यामेराको व्यवस्था अनिवार्य रूपमा गरी ड्रोन प्रविधिबाट समेत प्रतियोगिताको रेकर्ड राखिनुपर्ने उनीहरूको माग छ । यसै गरी प्रतियोगिता स्थलमा प्यारामेडिक्सको व्यवस्था गरी घटनास्थलमै चिकित्सकद्वारा आधारभूत उपचारको व्यवस्थाका लागि ध्यानाकर्षण गराइएको छ । 
यसै गरी खेलाडीका लागि उचित जीवन बिमाको व्यवस्था गरिनुपर्ने, खेलाडीलाई प्रतियोगितामा अनुबन्धन गर्दा अनिवार्यरुपमा परिवारको स्वीकृति लिनुपर्ने माग राखिएको छ । नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर मात्र प्रतियोगिता सञ्चालन गर्न पनि थापाको परिवारले ध्यानाकर्षण गराएको छ ।

फेवातालमा पूर्णकालीन कर्मचारी राखी २४ घण्टे मोटरबोट सुरक्षा अनुगमनको व्यवस्था हुनुपर्ने, टेकअफ क्षेत्रमा भवन निर्माण भइरहेको सन्दर्भमा उड्ययन मापदण्डअनुसार उडान क्षेत्रमा यस प्रकारको निर्माण गतिविधिमा पोखरा महानगरको समन्वयमा आवश्यक अनुगमन गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका खेलाडी निस्सिम थापाको परिवारले क्षतिपूर्तिका साथ उहाँको अर्ध कदको सालिक निर्माणका लागि प्रदेश सरकारले सहजीकरण गर्ने बताए । प्रदेश सरकारकातर्फबाट गर्न सक्ने विषय यहाँबाट गर्ने र बाँकी विषयमा संघ सरकारसँग समन्वय गर्ने प्रतिबद्धता उनले जनाए ।
 


Author

थप समाचार
x