गण्डकी

अन्डरग्राउण्ड खाली गर्न पोखरा महानगरले चलायो डोजर

धनबहादुर गुरुङ |
कात्तिक १५, २०७९ मंगलबार १८:२२ बजे

पोखरा । पोखरा महानगरपालिकाले भूमिगत पार्किङ (अन्डर ग्राउण्ड) खाली गर्न डोजर चलाएको छ । महानगरले प्रयोजन विपरीत सञ्चालनमा रहेका अन्डर ग्राउण्ड पार्किङहरू खालि गराउन एक्सन लिएको  हो । 

अन्डर ग्राउण्ड खाली गर्न सूचना जारी गरेको ३५ दिने सुचनाको समय सकिएपछि महानगर डोजर लिएर निरीक्षणमा निस्किएको हो । मंगलबार सूचनाको अटेर गरी खाली नगर्ने केही स्थानमा डोजर चलाईएको छ । भूमिगत पार्किङ सहित महानगरपालिकाबाट कर छुटको सुविधा लिएर निर्माण गरिएका व्यापारिक भवनहरूले व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि महानगरपालिकाले पटक–पटक हटाउन अनुरोध गरेको थियो । 


पोखराको चिप्लेढुंगास्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्र पुल स्थित गरिमा विकास बैङ्क रहेको भवन लगायत स्थानहरूमा महानगरपालिकाले डोजर चलाएको हो । सेलवेज टावरको बेसमेन्टमा सञ्चालनमा रहेको विगबजार भने स्थानान्तरणको क्रममा रहेकाले सोका लागि ७२ घण्टाको अल्टिमेटम दिइएको छ । ‘महानगरपालिकाको निर्णय कार्यान्वयन गर्नका लागि हामी दिनरात खटिरहेका छौँ, नयाँ स्थानमा हामीले निर्माणको काम गरिरहेका छौँ, यता सामानहरू प्याक गरिरहेका छौँ, विगबजारका एक जना सञ्चालकले भने, ठूलो व्यवसाय भएका कारण केही समय त लाग्दो नै रहेछ ।’ उनले राज्यको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत जनाए । विगबजारका अर्का सञ्चालकले महानगरको निर्देशनलाई अब विलम्ब नगर्ने विश्वास दिलाएका छन् ।

महानगरपालिकाले विगबजारका सञ्चालकलाई पार्किङ खाली गर्नका लागि ७२ घण्टाको अल्टिमेटम दिएको छ । रातदिन काम गरेर भए पनि पार्किङ खालि गर्न सञ्चालकलाई महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्देशन दिए । महेन्द्रपुलस्थित सञ्चालनमा रहेको गरिमा विकास बैंकको शाखालाई समेत तत्काल स्थानान्तरण गरी भूमिगत पार्किङ खाली गर्न प्रमुख आचार्यको निर्देशन छ । 

पोखराको महेन्द्र पुल चोकमै रहेको हुलाक निर्देशनालयको कम्पाउन्ड समेत एक साताभित्र नहटाए महानगरपालिका आफैले हटाउने जनाएको छ । ‘हुलाक निर्देशनालयले आफ्नो भवन मापदण्ड अनुसार नै निर्माण गरेको छ, पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले भने, ‘तर उसले निर्माण गरेको कम्पाउन्ड भने मापदण्ड विपरीत छ, हुलाकलाई कम्पाउन्ड हटाउनका लागि एक साता पर्खन्छौँ, एक सातामा पनि नहटाए महानगरपालिका आफैले हटाउँछ ।’ उक्त स्थान पनि पार्किङका लागि खुला गरिने महानगरले जनाएको छ ।

निकट भविष्य मै महेन्द्रपुलदेखि सिद्धार्थ चोकसम्म रहेका भूमिगत पार्किङहरूलाई दुई पांग्रे र न्युरोड क्षेत्रमा रहेका पार्किङमा कार पार्किङको रूपमा प्रयोग गर्ने योजना बनाइएको प्रमुख आचार्यले बताए । सडकको पार्किङलाई व्यवस्थापन गर्ने गरी काम थालिएको उनले बताए ।  

पोखरा महानगरपालिका क्षेत्रभित्र २५० को हाराहारीमा अन्डरग्राउन्ड पार्किङसहितका भवनहरू निर्माण गरिएका छन् । ती पार्किङलाई पार्किङ कै रूपमा प्रयोग गरिए सडकमा हुने अव्यवस्थित पार्किङ र ट्राफिक जामको समस्यामा कमी आउने विश्वास महानगरपालिकाको रहेको छ ।

मंगलबार केही स्थानमा निर्देशन दिएकाले अटेर गरे कारवाहीमा अघि बढ्ने प्रमुख आचार्यको भनाई छ । महानगरले गत भदौ १३ गते पोखरा बजार क्षेत्रभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । दशैं तिहारका समयमा व्यावसायीहरुको भावनालाई कदर गर्दै छठसम्म समय लब्याएको हो ।
 


Author

थप समाचार
x