गण्डकी

गण्डकी विश्वविद्यालयको १० वर्षे रणनीतिक योजना सार्वजनिक

धनबहादुर गुरुङ |
असोज २, २०७९ आइतबार २०:२३ बजे

पोखरा- गण्डकी विश्वविद्यालयले रणनीतिक योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विश्वविद्यालयले तयार पारेको दश वर्षे रणनीतिक योजना आइतबार सार्वजनिक गरेका हुन् ।

विश्वविद्यालयको शैक्षिक गुणस्तर र विश्वसनीयता विकासका लागि दश वर्षे रणनीतिक योजना बनाइएको हो । दश वर्षे रणनीतिक योजनाभित्र ८ वटा मूल्यमान्यता, १२ वटा रणनीतिक स्तम्भहरू, १४ वटा लक्ष्य, १४ वटा उद्देश्य, ४८ वटा कार्यगत रणनीति र एक सय ४५ वटा गतिविधिहरू समेटिएको छ । योजना सन् २०२२ देखि सुरु भई २०३२ सम्म सक्ने लक्ष्य लिइएको छ ।


कार्यक्रममा प्रदेश प्रमुख गुरुङले दश वर्षे योजनालाई समयमै पूरा गर्नुपर्ने बताए । धेरै योजनाहरू सुरुवात गर्ने तर बीचमै छाड्ने प्रवृत्तिको स्मरण गर्दै प्रदेशको गौरवसँग जोडिएको यस योजना पूरा गर्नुपर्नेमा उनकाे जोड थियाे । गण्डकी विश्वविद्यालयले प्रदेशमा बस्ने जनताको आवश्यकताका आधारमा पाठ्यक्रम बनाएर जानुपर्ने प्रदेश प्रमुख गुरुङको भनाइ थियो ।

विश्वविद्यालय चलाउन आर्थिक स्रोतको जोहो मुख्य चुनौती रहेकाले यसको सुनिश्चिततामा ध्यान दिन उनले सुझाव दिए ।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले सैद्धान्तिक रूपमा बनेका योजनाका बुँदाहरूलाई प्रयोगात्मक बनाउँदै लैजाने उल्लेख गरे । उनले विश्वविद्यालयले अध्ययन, अनुसन्धान र उत्पादनमा जोड दिएकाले दश वर्षे रणनीतिक योजना पूरा गरेरै छाड्ने विश्वास दिलाए ।

रणनीतिक योजना तयार पार्न नि:शुल्क सहयोग गरेका नीति तथा योजना आयोग, गण्डकी प्रदेशका पूर्व उपाध्यक्ष डा. गिरीधारी पौडेलले योजना उत्कृष्ट बनेको दाबी गरे । २०/३० वटा अभ्यास र ४० वटा विश्वविद्यालयको ढाँचालाई आधार बनाएर तयार गरेकाले उत्कृष्ट भएको उनले बताए ।

पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बरालले आफूले बनाएको योजनालाई आफैँले राम्रो भनेर बयान गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे । योजना बनाएर सफल कार्यान्वयनपछि जनताले गर्ने मूल्यांकनका आधारमा सफल/असफल हुने उनको तर्क थियो । धेरै योजना बनाउँदा आफ्नो भूमि र योग्यतालाई ध्यानमा नलिई बनाइएकाले असफल हुने गरेको तथ्य बताउँदै विश्वविद्यालयले बनाएको रणनीतिक योजना सफल बनाउनुपर्ने धारणा राखे ।


Author

थप समाचार
x