गण्डकी

गाउँको सेवा सहरमा

धनबहादुर गुरुङ |
भदौ ३१, २०७९ शुक्रबार १०:९ बजे

पोखरा - कास्की सिक्लेसकी पदममाया गुरुङ पोखरा झरेको वर्षौं भयो । उनले बसाईसराई भने गरेकी छैनन् । पोखरा हस्पिटलचोक बस्ने उनी सानादेखि ठूला प्रशासनिक कामका लागि गाउँ नै उक्लिन्छिन् ।

पछिल्लो समय उनलाई नाता प्रमाणित गर्नुपर्ने थियो । छोरो अष्ट्रेलिया भएकाले उतै जानका लागि उनलाई जसै नाता प्रमाणित गर्नुपर्ने थियो । तर, बर्खाले बाटो बिगारेकाले उनलाई सिक्लेस उक्लिन समस्या थियो । 


कास्कीको मादी गाउँपालिका १ मा पर्ने गाउँ सिक्लेस पोखरादेखि ४२ किलोमिटर दुरीमा छ । गाडी मै जाँदा पनि करिब ४ घण्टा लाग्छ । पैसाकै हिसाब गर्ने हो भने एकतर्फी भाडा ७ सय छ । जाँदा आउँदा बाटोमा खाइने खाजा खाना जोड्दा २ हजार भन्दा बढी खर्च हुन्छ । हिंडेरै जाने हो भने भने पुरापुर एक दिन लाग्छ । यसैकारण पनि पदममाया जस्ता धेरै पोखरा बस्ने सिक्लेसीहरूले हैरानी खेपिरहेका छन् । 

बुधबार भने पोखरा १२ माटेपानी स्थित समाजघरमा पदममाया खुसी मुद्रा भेटिइन् । उनी हातमा नाता प्रमाणित प्रमाणपत्र बोकेर हाँस्दै थिइन् । उनी खुसी हुनु कारण थियो, मादी गाउँपालिका १ को वडा कार्यालयले समाजघरबाट सेवा दिईरहेको थियो । आधा सिक्लेसी जनताको सेवाका लागि वडाध्यक्ष देवीजंग गुरुङले पोखरामै घुम्ती सेवा सञ्चालन गरेका हुन् । पोखराबाटै सेवा पाएकोमा पदममाया गुरुङले जनप्रतिनिधि र कर्मचारीहरूलाई धन्यवाद दिए । आगामी दिनमा पनि यस्तो सुविधा दिनका लागि उनले आग्रह गरिन् । वडाले सुरु गरेको कामबाट आफ्नो समय र पैसा जोगिएको पदममायाले बताइन् । 

आफ्नो चुनावी नारामा समेटिएको घुम्ती सेवालाई पदभार ग्रहण गरेकै दिन निर्णय गरेर सुरु गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए । हरेक २ महिनाको अन्तरालमा घुम्ती सेवा दिने निर्णय भएको हो । सोही अनुसार पहिलो चरणमा असार ३० र ३१ गते सेवा सञ्चालन गरे । त्यो बेला सेवाग्राहीको चाप बढेपछि साउन १ र २ गते सेवा थप गरियो । 

दोस्रो चरण अन्तर्गत भदौ २६, २७ र २८ गते तीन दिनलाई समय निर्धारण गरिएपनि एक दिन लम्बियो । सिक्लेस भौगोलिक हिसाबले मादी गाउँपालिकाकै ठूलो अनि विकट गाउँ भएकाले पनि आफूहरूले घुम्ती सेवासुरु गरेको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । यस कार्यक्रमबाट एक दिनमा ३० देखि ४० जनाले सेवा लिएको उनले बताए । 

सिक्लेस जस्तै ताङतिङ गाउँ पनि विकट अनि भौगोलिक रुपमा टाढा छ । पोखरादेखि २० किलोमिटर टाढा रहेको ताङतिङका पनि आधा जति जनता पोखरा बस्छन् । विभिन्न कारणले शहर बसेकाहरू वडाको काम परे २ घण्टाको यात्रा ३ सय भाडा तिरेर गाउँ उक्लनुपर्ने बाध्यतामा छन् । मादी गाउँपालिका २ ले पनि पोखरा बस्ने जनताको सुविधाका लागि पोखरा १२ मा घुम्ती सेवा कार्यक्रम गरेको छ । 

वडा नम्बर २ को घुम्ती कार्यक्रम मंगलबारदेखि सुरु भएर बिहीबार सकिएको छ । ताङतिङले हरेक महिना २ देखि ३ दिन पोखरामा घुम्ती सेवा दिने निर्णय गरेको छ । पोखराको घुम्ती कार्यालयबाट दैनिक ५० जना सेवाग्राहीलाई सेवा लिइरहेको वडा सचिव बसन्त थापा मगरले जानकारी दिए । जहाँबाट सेवा दिएपनि प्रशासनीक काममा कुनै भिन्नता नरहेपनि पोखरा आएर सेवा दिंदा सेवाग्राही निकै खुसी हुँदा हामीलाई काम गर्ने जोश बढेर आउने उनले बताए । वडा कार्यालयबाट दिईने सम्पूर्ण सेवा पोखराको घुम्ती सेवामा दिने गरिएको उनको भनाइ थियो । जसले गर्दा सेवाग्राहीले गाउँमै सेवा लिएको प्रतिक्रिया दिने गरेको वडासचिव मगरले बताए । 

पोखरामा हुने घुम्ती सेवा कार्यक्रममा सेवा लिएर मख्ख सिक्लेस र ताङतिङका पोखरा बस्ने नागरिकहरू आगामी दिनमा अझै प्रभावकारी रुपमा यो सेवा दिनुपर्ने बताउँछन् । 


Author

थप समाचार
x