गण्डकी

अभाव नाघेर अग्लिएको अमलटारी

अनिष भट्टराई |
चैत १७, २०७७ मंगलबार १३:६ बजे

पोखरा : माटोले बनाइएका स–साना घरहरू । खरका छानाको ओत भएका हरेक घरमा २ कोठा, जहाँ ४ जनामात्र राखिन्छ । हरिया धान खेतमा धानका बिरुवा झुलिरहेका छन्, अगाडि । घर अगाडि बस्न गोलाकार छाप्रा बनाइएका छन् । घरमा पाहुना आए भने पस्किने खाजा चिचर र लोडेको साग हो ।
ज्रिबो लोभ्याउने लोकल कुखुरा, हाँस र घोगी पनि पाहुनाको सत्कारका परिकार हुन्छन् । बेलुका स्थानीय नृत्य र गीत पनि प्रस्तुत हुन्छ । पछिल्लो समय होमस्टेमा पाहुना राखेर कहलिएको नवलपुरको अमलटारी गाउँ थारु जातिको जिउँदो संग्रहालय बनेको छ ।

चिचर यस्तो परिकार हो, जुन चामलबाट बन्छ । यस्तो परिकार थारु बाहेक अरु जातिसँग छैन । घोंगी हेर्दा शंखेकीरा जस्तो देखिन्छ, तर यो तराईका सिमसार क्षेममा पाइन्छ । घोंगी खाएरै थारु जातिले मलेरियासँग जुधेर तराईमा बस्न सकेको बुढापाकाहरु बताउछन् ।


मुख्य बजार कावासोती र डन्डा बजारबाट ७ किलोमिटर दक्षिणको यो गाउँको कथा ७ वर्ष अघिसम्म भने बेग्लै थियो । अहिले जति ध्यान अमलटारीले पाएको छ, २०७० सम्म त्योभन्दा बढी उपेक्षामा थियो, अमलटारी । नारायणी नदी किनारको यो गाउँ शहरबाट टाढा र विपन्न थियो । गाई–गोठालाहरुलाई यो ठाउँ चरन थियो । बाटोघाटो, सरसफाइ थिएन । बालबच्चाहरु पढाउनुपर्छ भन्ने चेत थिएन । गाउँलेहरु ज्यालामजदुरी गरी जीविकोपार्जन गरिरहेका थिए । स्थानीय छन्नुराम महतो (३६) पुराना दिन सम्झन्छन्, ‘पहिला त, एकदमै पछि परेको ठाउँको स्थानीय थियौ, डन्डा बजारकै मान्छेले यो ठाउँ चिन्दैनथे ।’

त्यतिबेला अघ्यौली गाविस ५ बाघखोर भनिने यो ठाउँका स्थानीयले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको संरक्षण गर्थे । भलै, जंगलका जनावरले उनीहरुको बाली नै किन नरित्याइदिउन् उनीहरुले वनको संरक्षण गरिरहेकै थिए ।

बाघखोर नजिकै केही राम्रा होटल खुलेका थिए । ती होटलहरुले सफारी र केही रात बसे वापत सयौं डलर लिन्थे । स्थानीयहरुले भने वनको संरक्षण गरेर कुनै फाइदा लिएका थिएनन्, बरु उल्टै सास्ती झेलिरहेका थिए । कहिले गैंडा आएर बाली खाइदिन्थे त कहिले हात्ती आएर खाइदिन्थे । आफ्ना दुःखको भोग अरु कसैले खाइरहेको थाहा पाएपछि त्यहाँका स्थानीयलाई हामी आफैं पनि केही सुरु गरौं भन्ने चाह बढ्न थाल्यो ।

महिनामै २ हजार ५ सय जनासम्म राख्ने अमलटारीले जस्तै बेमौसममा पनि १ हजार पाहुनालाई आतिथ्यता दिन्छ । दुःख र अभावको चौघेरो नाघेर अमलटारी अग्लिएको छ ।
 

अर्का स्थानीय धनीराम गुरौंलाई गाउँका स्थानीयको दुःखको फल अरुले नै लिएको मन परेको थिएन । डब्लुडब्लुएफ (वल्र्डवाइड फन्ड फर नेचर) को सहयोगमा वनको संरक्षण पनि हुने स्थानीयको जीवन बदलिने उपाय सोचे । उनीहरु बर्दियाको डन्डामा सञ्चालित होमस्टे अवलोकन गर्न गए । र, २०७० जेठ ५ मा बाघखोरमा होमस्टे सञ्चालनमा ल्याए ।

होमस्टे सुरु गर्न डब्लुडब्लुएफले प्रत्येक घर वापत् ५० हजार रुपैयाँ सहयोग ग¥यो । अमलटारीमा ३१ घरमा होमस्टे राखिएको छ । ‘हामीले वन, वन्यजन्तु र गाउँलेकै विकासका लागि सोचेका थियौ, अहिले पूरा गाउँनै परिवर्तन भइसक्यो,’ होमस्टेका प्रबन्धक गुरौंले भने ।

प्रत्येक परिवारले ३ लाखका दरले पैसा उठाएर होमस्टे सुरु गरिएको थियो । होमस्टे सुरु गर्ने भनेपछि छन्नुराम महतोले पनि पैसा जम्मा गरे । गाउँमै ज्यालादारी गर्ने उनले ऋण काढेरै पैसा बुझाए । त्यो लगानीले उनलाई मालामाल बनायो । उनले आफ्नै निजी होमस्टे पनि सुरु गरे । ‘पहिला ज्यालादारीमा हिँड्थे, जीवन कठिन थियो, घरमै पाहुनाका सेवा गरेर राम्रो आम्दानी गरेको छु,’ महतोले भने ।

होमस्टे सुरु गरेपछि पवित्रा महतोले झन् दोब्बर फाइदा उठाउन सकेकी छन् । उनले गाउँमै पसल सञ्चालन गरेकी छन् । गाउँ आउने पर्यटकलाई चाहिने हरेक सामान उनले बेच्छिन् । पवित्राका पति पहिला घोट्टिएर काम गर्दा पनि छाक टार्न मुस्किल हुन्थ्यो । होमस्टेले अवस्था फेरेको छ । ‘काम जति गरे पनि छाक टार्नै अपुग हुन्थ्यो, तर होमस्टे र पसल भएपछि त अवस्था फेरिएको छ,’ पवित्राले सुनाइन् ।

१८ घरबाट सुरु भएको होमस्टेमा हाल ३१ घर छन् । केही व्यक्तिले निजी होमस्टे समेत सञ्चालन गरेका छन् । होमस्टे चलाउन होमस्टे समिति र कार्यालय स्थापना गरेर राखिएको छ । कार्यालय खर्च भनेर मासिक १० प्रतिशत आम्दानी कटाइन्छ । बाँकी ९० प्रतिशत चाहिँ ३१ घरमा बाँडिन्छ । ‘ज्याला मजदुरी गर्दा दुःख पनि उस्तै, पैसा साह्रै कम हुने, अहिले त ८० हजारसम्म कमाउछौँ,’ छन्नुरामले सुनाए । अमलटारी केबल अरुलाई सेवा दिइरहेको मात्र छैन, सेवा पनि लिइरहेको छ । अमलटारीका मानिसको जीवनस्तर कायापलट भएको छ ।

धनमाया महतो (२७) पहिला बाहिरका मानिससँग बोल्न डराउँथिन् । आफ्नै गाउँकै पुरुषहरुसँग बोल्न पनि उनलाई धक लाग्थ्यो । अचेल उनी विदेशी पाहुनासँग अंग्रेजीमै निर्धक्क बोल्छिन् । विदेशी पाहुना आउँदा धनमायासँगै पिंकी महतो र गाउँका अन्य महिला नडराई प्रस्तुत हुन्छन् । ‘हामीलाई व्यवस्थापन समितिले ३ महिने तालिम दिएको थियो, पहिला वेलकम, थ्याङ्क्यूमात्र भन्थ्यौं, अहिले राम्रै बोल्न सक्छौं,’ धनमाया भन्छिन् । महिनामा २५ सय जनासम्म पर्यटक अमलटारी पुग्छन् । अफ सिजनमा पनि मासिक १ हजार पाहुनालाई अमलटारीले आतिथ्यता दिन्छ । ‘अहिलेसम्म ७२ हजार बढीलाई सेवा दिएका छौं, अन्य पाहुनालाई पनि सेवा दिन आतुर छौं,’ धनीरामले भने ।

‘फेरि लकडाउन भए त उठिबास लाग्छ’

छन्नुराम महतो, सञ्चालक होमस्टे नम्बर ११ 

सिजनको बेला थियो । एक्कासि लकडाउन लाग्यो । १ महिना होला भन्यो, २ महिना होला भन्यो, यतिका लामो समय लकडाउन भयो । हाम्रो मुख्य आय स्रोत नै पर्यटक हुन्, पर्यटक नै आउन पाएनन् । हामी त ७ वर्षअघि जस्तो अवस्थामा थियौ, त्यहीँ पुग्यौ । लकडाउन त चाहेकै थिएनौ, बरु बच्ने उपायहरु अपनाउने थियौ । फेरी पनि लकडाउन लगाउने रे भन्ने हल्ला गर्छन् । अब पनि लकडाउन लाग्यो भने त हाम्रो उठिबास नै लाग्छ ।

पहिलाको लकडाउनको प्रभाव बल्ल मेटेका छौंं, अब लकडाउन लगाए भने हामी त ज्यालामजदुरीमै फर्कनुपर्छ । होमस्टे व्यवस्थापन र भाइरसबाट बच्न जे गर्नुपर्छ गर्न तयार नै छौं । अब चाहिँ लकडाउन नभओस्, नत्र जीवन धान्नै गाह्रो हुन्छ । खेती किसानी छाडेर यता आएका छौं, पर्यटक नआए केले खानु ?


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x