बागमती

सिर्जना सिंहलाई महिलाहरूको सुझावः

‘मेयरमा विजयी भएपछि सल्लाहकारमा आसेपासे र कार्यकर्तालाई नराख्नुस्’

अतिन आचार्य |
बैशाख २२, २०७९ बिहीबार २२:१३ बजे

तस्बिरः आधार खतिवडा

काठमाडौँ- 'मेयरमा विजयी हासिल गरिसकेपछि सचिवालय सल्लाहकारमा आफ्ना आसेपासे र कार्यकर्तालाई नराख्नुहोस । यहाँ राम्रालाई पाखा लगाएर आफ्नालाई भर्ती गर्ने परम्परा बसेको छ । विषयमा दक्षता हासिल गरेका विज्ञलाई राख्नुहोस ।'

नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरकी उम्मेदवार बनेकी सिर्जना सिंहसँगको संवादमा यजश्वी राईको सुझाव थियो । उनले मेयरको मातहतमा १४ विभिन्न महाशाखासहित ८६ वटा विभाग हुने बताएकी थिइन् । बिहीबार आयोजित 'हाम्रो चाहना यस्तो नेतृत्त्व , यस्तो काठमाडौँ' अन्तरक्रिया कार्यक्रममा सिंहलाई लक्षित गर्दै स्थानीय तहमा महिला नेतृत्त्वको जरुरी रहे पनि कार्यान्वयन पक्ष एकदमै फितलो रहेको राईको भनाइ थियो ।


 उनले सुझाव दिदै अगाडि भनिन्,' यदि विजयी हुनु भयो भने आफ्नो कार्यकाल सुरु भएदेखि समाप्त हुने समयसम्म उत्तराधिकारी जन्माउन सक्नु हुन्छ कि सक्नुहुन्न् ? यदि महानगरमा पुनः नेतृत्त्व चाहिएमा आगामी मेयर कस्तो खालको तयार गर्नु हुन्छ ।  विजयी भएको दिनदेखि सुरुवात गर्नुहोला ।'

महानगरमा जनसंख्या बिस लाख बढी भए पनि मतदाता ६ लाख भएकाले घरबहालमा बसेकाहरूको निम्ति कस्तो योजना बनाउनु हुनेछ भनी राईले प्रश्न गरेकी थिइन् । घरबहालमा बस्ने भन्दा रैथानेलाई प्राथमिकता दिने जस्तो देखिएको उनले बताएकी थिइन् ।

महिला अधिकारकर्मीहरूले आयोजना गरेको ‘पोलिटीक्स फर सस्टेनएविलिटी’ अन्तरक्रियामा विभिन्न क्षेत्रका महिलाहरू सहभागी थिए । खानेपानी, वातावरण, जनावरलाई संरक्षण गर्ने, पोषण र फोहोर व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका महिलाहरूको पनि उल्लेख्य मात्रामा सहभागीता थियो ।

कामका कुरा भन्दा पनि व्यवहारिक रुपमा कसरी कार्यान्यवन गर्न सकिन्छ त्यसमा नेतृत्वले ध्यान दिनुपर्ने ‘पोलिटीक्स फर सस्टेनएविलिटी’ संस्थापक सदस्य सिलसिला आचार्यले बताइन् । उनले भनिन्, ' सानो-सानो काम भए पनि दीर्घकालीन  काम कसरी गर्न सकिन्छ त्यसका लागि योजना बनाउनु पर्छ ।'

आचार्यले सहरमा विभिन्न वर्गका मानिसहरू बसोबास गर्ने बताइन् । निम्न, मध्यम र धनी वर्ग सबै प्रकारका मानिसका निम्ती बस्न योग्य नगर हुनुपर्ने उनले सुझाव दिइन् ।

'महानगरलाई बालबालिका, महिला तथा वृद्धवृद्धाका लागि बस्न योग्य बनाइनुपर्छ,'  मेयरकी उम्मेदवार सिंहलाई सुझाव दिँदै उनले धारणा राखिन्,' यस्ता कार्यक्रम लागू गर्न दिगो योजना बनाउनुपर्छ । विज्ञको राय सल्लाह लिनुपर्छ । यसमा महिलाको नेतृत्वको भूमिका हुन्छ ।'

कार्यक्रममा सहभागी महिलाहरूको जवाफ दिदै सिंहले तपाइ हामीले खोजेको जस्तो काठमाडौँ नभएकाले खोजे जस्तो महानगर बनाउने दाबी गरिन् ।

'महानगरमा समस्या नै समस्याका चाङ छ । जताततै फोहोरको थुप्रो र अस्तव्यस्त सडक, खाल्डाखुल्टी र धुलोधूँवा रहेको छ । अहिले पनि बाटोमा फोहोर थुप्रिएका छन् । बिग्रेका संरचनालाई व्यवस्थित बनाउने पहिलो प्राथमिकतामा राख्‍नेछु । फोहोरको व्यवस्थापन घरबाट नै गर्ने छु,' उनले भनिन् ।

सिंहले महानगरको प्रशासनिक सेवा सुस्त रहेकाले अब महानगरबासीले घरमा नै बसेर अनलाइनमार्फत सेवा लिन सक्ने वातावरण बनाइने बताइन् । उनले महानगरमा खानेपानीको समस्या रहेकाले सार्वजनिक स्थानहरुमा शुद्ध र निःशुल्क खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् ।

'महागनरभित्रको बाटो धेरै हिड्छौं । बाटोका पसलमा मिनिरल पानी देख्छौं । पैसा नहुनेले सित्तैमा पानी खान पाउँदैन । त्यसलाई मध्यनजर राखेर सार्वजनिक स्थानहरुमा शुद्ध निःशुल्क खानेपानीको व्यवस्था गर्ने छु,'सिंहले अगाडि थपिन् ।

महिलामैत्री हुने गरी निःशुल्क शौचालय बनाउने पनि उनले बताइन् । शौचालयमा स्यानटरी प्याडको व्यवस्था गरिदिने उल्लेख गरिन् । महानगरबासीका लागि छुट्टै सुविधासम्पन्न अस्पताल बनाउने पनि सिंहले सुनाइन् ।

महानगरलाई हरियाली बनाउने अवधारणा ल्याउने सुनाइन् । 'हरेक महिलाले आफ्नो सन्तानको जन्म हुँदा रुख रोप्ने नीति लागू गर्छु । एउटा एउटा रुखको कारण महानगर हरियाली बन्न सक्छ,' आफू आमा बन्दा रुख रोपेको सम्झदै भनिन्,' मैले पनि सन्तान जन्मदा बिरुवा रोपेको थिए । अहिले छोरालाई देखाएर ठूलो भएको सुनाउँने गरेकी छु ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x