बागमती

लक्ष्मी माझी : जाे गाउँपालिका हाँक्ने दाैडमा छिन्

सरिता दाहाल |
बैशाख १६, २०७९ शुक्रबार १३:३६ बजे

मकवानपुर - लक्ष्मी माझी मकवानपुरका लागि परिचित नाम हो । उनलाई धेरैले कृपा भनेर पनि चिन्दछन् । अर्थात लक्ष्मी माझी “कृपा” ।

हक्की स्वाभावकी लक्ष्मी माझी समुदायबाट पहिलो जनप्रतिनिधि हुन् । २०७४ सालमा मकवानपुरको बकैया गाउँपालिकाको कार्यपालिका सदस्य रहेकी लक्ष्मी अहिले भने पालिका अध्यक्षको उम्मेदवार हुन् ।

उनको परिचय यतिकैमा सकिदैन । उनी सशस्त्र युद्धमा होमिएर, खारिएर राजनीतिमा आएकी महिला हुँ भन्न रुचाउँछिन् आफूलाई । बुलेट छोडेर ब्यालेटको नतिजामाथि विश्वास गरेर ५ वर्षे अनुभव समेत कमाइसकेकी छिन् लक्ष्मीले । “जनमुक्ति सेनाको भूमिकामा र शान्तिपूर्ण राजनीतिमा कार्यकर्ताको रुपमा सक्रिय उनी महिलामा राजनीतिक चेत आजको मुख्य आवश्यकता हो” उनी भन्छिन् ।

नेकपा माओवादी केन्द्रको सिफारिसमा सीमान्तकृत अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै यस अघि गाउँ कार्यपालिका सदस्य बनेकी लक्ष्मीले आफूसँग भएको कार्य अनुभवलाई प्रयोग गर्दै गाउँपालिकाको समग्र विकासको योजना बनाएको बताइन् ।

बकैया गाउँपालिकामा रहेका भूमिहिन दलित र अव्यवस्थित सुकुम्बासीलाई लालपुर्जा वितरण गरेर जग्गाधनी बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताइन् । उनले गाउँपालिकामा भौतिक र आर्थिक विकाससँगै मानवीय विकासमा समेत जोड दिने बताइन् ।

माझी समुदायको आर्थिक विकास, सामाजिक सशक्तिकरणमा समेत आफूले ध्यान दिने उनले बताइन् । अति सीमान्तकृत, दलित र विपन्न वर्गको लागि आफूले प्राविधिक शिक्षामा पहुँच पुग्ने गरी काम गर्ने भन्दै उनको योजना छ । यसैगरी महिला तथा बेरोजगार युवाहरुलाई स्थानीय श्रोत साधनको माध्यमबाट व्यावसायिक तालिम र स्वरोजगार बनाउने कल्पना गरेकी छिन् लक्ष्मीले ।

सशस्त्र द्वन्द्वमा आफूले लामो काल गुजारेको तर व्यवस्था मात्रै परिवर्तन भएको अवस्था आज पनि उस्तै रहेको प्रति उनलाई चिन्ता छ । “व्यवस्था परिवर्तनका लागि भएको सशस्त्र द्वन्द्वमा हामीले कति साथीहरु गुमायौं, तर आज पनि अवस्था उही छ” उनले भनिन् “आर्थिक सशक्तिकरण बिना हामीले व्यवस्थामा परिवर्तन ल्याउन सक्दैनौं ।”
‘देशका लागि जनयुद्धका समयमा घाइते भएका अपाङ्ग र सहीद परिवार, द्वन्द्व प्रभावित बेपत्ता परिवारको संरक्षणमा ध्यान दिने योजना समेत आफूले बनाएको उनले बताइन् ।  

गाउँपालिकामा जेष्ठ नागरिक सम्मान तथा महिलाहरुको प्रजनन स्वास्थ्य उपचारका लागि विभिन्न कार्यक्रम ल्याउने उनको योजना छ । आफूले ५ वर्षमा यहाँको अध्ययन गरेको र यहाँको आवश्यकता बुझेको दाबी गर्दै उनले बकैयाको अधुरो काम पुरा गर्न आफूले उम्मेदवारी दिएको प्रष्ट पारिन् ।

यद्यपि सत्तासाझेदार दलहरुमा गरिएको गठबन्धनभित्रको बिखण्डनको कारण बकैया गाउँपालिकामा पनि चुनावी माहोल लक्ष्मीले सोचेजस्तो छैन ।

उनी सहित बकैया गाउँपालिकाको अध्यक्षमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन । गठबन्धनबाट बाहिरिएर नेपाली कांग्रेसबाट धर्मराज लामिछानेको उम्मेदवारी रहेको छ भने नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनबाट बाहिरिएर अध्यक्षमा नारायण तिमल्सिनाको उम्मेदवारी दर्ता गरेको छ । यसैगरी जसपाले पनि आफ्नै उम्मेदवारको रुपमा मानबहादुर माझीलाई उठाएको छ ।

यता नेकपा एमालेबाट यसअघि गाउँपालिका उपाध्यक्ष रहेकी सरला बोलखे पनि अध्यक्षको उम्मेदवार छिन् ।

यसैगरी राप्रपाबाट अध्यक्षमा रामप्रसाद दाहाल छन् भने अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिएको मालेबाट कुमार बहादुर सन्जेलको उम्मेदवारी छ । यसैगरी कृष्ण घिमिरेले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।



Author

थप समाचार
x