बागमती

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

इकागज |
चैत १८, २०८० आइतबार १४:५३ बजे

मकवानपुर- नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दललाई निर्देशन दिएको छ । 

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न पत्रसहित निर्देशन दिएको हो ।


बैठकले मुख्यमन्त्री जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकामा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई निर्देशन दिएको हो । 

बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेलले भोलि चैत १९ गते विश्वासको मत लिने कार्यक्रम छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

बागमतीको एक सय १० सदस्यीय प्रदेशसभामा बहुमत कायम रहन जम्कट्टेलले ५६ मत प्राप्त गर्नुपर्दछ । यस प्रदेशको प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।


Author

थप समाचार
x