बागमती

एमसीसी अन्तर्गत प्रसारण लाइन बनाउन मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरु

इकागज |
भदौ १, २०८० शुक्रबार २१:२१ बजे

फाइल तस्बिर

मकवानपुर- अमेरिकाको अनुदान आयोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।


जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सूचना सार्वजनिक गर्दै थाहा नगरपालिका वडा नम्बर ८, कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६, राक्सिराङ गाउँपालिका–१ र हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ र १९ मा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो ।

सूचना प्रकाशित भएको मिति २०८० भदौ १ गते देखि २१ दिनभित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा, बालीनाली लगायतका अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबीसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन सक्नेछन् । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिव कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

४०० केभी विद्युत् प्रसारण आयोजना निर्माणकै लागि बुटवल सबस्टेशनदेखि दमौली सबस्टेशन खण्डमा पर्ने पाल्पामा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ ।

एमसीसी परियोजनाअन्तर्गत अमेरिका सरकारको अनुदानमा रातमाटे–लप्सीफेदी–हेटौंडा–नयाँ दमौली–नयाँ बुटवल खण्डमा प्रसारण लाइन निर्माण गर्न लागिएको हो । यसअन्तर्गत भारतीय सीमादेखि न्यु बुटवल, न्यु बुटवल–न्यु दमौली, न्यु दमौली–रातमाटे (नुवाकोट), रातमाटे–हेटौंडा र रातमाटे–लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण गरिनेछ ।

यो प्रसारण लाइनको क्षमता ४०० केभी हुनेछ । त्यस्तै, रातमाटे, दमौली र बुटवलमा तीनवटा ४०० केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन् । प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ४० करोड डलर खर्च गरिनेछ ।

एमसीसी अन्तर्गत नै सडक सुधार योजना पनि सञ्चालन हुनेछ । यसअन्तर्गत दाङको भालुबाङदेखि बाँकेको सीमा शिव खोलासम्म ७७ किलोमिटर सडक सुधार गर्ने योजना छ ।
 


Author

थप समाचार
x