बागमती

सर्वोच्चका कारण तत्काललाई रोकियो राजमार्ग विस्तार

इकागज |
साउन १५, २०८० सोमबार १९:२ बजे

मकवानपुर- मकवानपुरको हेटौंडा बजार क्षत्रमा राजमार्ग विस्तारका लागि भोलि (मंगलबार)बाट डोजर चलाइने भनिए पनि तत्कालका लागि यो कार्य रोकिएको छ ।

पीडितहरूले अदालतमा रिट दर्ता गरेपछि सर्वोच्चले अन्तिम टुङ्गो नदिएका कारण तत्काललाई उक्त कार्य रोकिएको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ । 


डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले भोलिलाई घर नभत्काउने जानकारी दिए । सर्वोच्च अदालतले दुई वटा घर मात्र तत्काल नभत्काउनु भनेर आदेश दिएकाले अरु राजमार्गका सबै घरहरू भत्काउने डिभिजन कार्यालयले बताउँदै आएको थियो । अन्तिम अवस्थामा आएका डिभिजन कार्यालय नै पछि हटेको हो । 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको राप्तीपुलदेखि रातोमाटेसम्मको सडक विस्तार तत्काललाई रोकिने भएको हो । यहाँका घरधनीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका कारण आफूहरू बाध्य भएर सडक विस्तार गर्न नसक्ने अवस्थामा पुगेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख यादवका अनुसार सर्वोच्च अदालतले हेटौंडाको घरधनीको नाममा अन्तरिम आदेश दिएको र मंगलबार छलफलका लागि बोलाएका कारण सडक विस्तार गर्ने कार्य अहिलेलाई रोकिएको हो । महान्यायाधिवक्ताको कार्यालयसँग परामर्श भइरहेको र त्यसपछि मात्रै कार्य अघि बढाइने यादवले बताए ।
 


Author

थप समाचार
x