बागमती

खाेप लगाएपछि मकवानपुरमा घट्दै दादुरा/रुबेलाको संक्रमण

इकागज |
माघ १९, २०७९ बिहीबार १३:२६ बजे

फाइल तस्बिर

मकवानपुर । मकवानपुरमा दादुरा संक्रमण घट्दो रहेको पाइएको छ । मकवानपुर जिल्लामा अघिल्ला वर्षहरूको तुलनामा रोगले संक्रमितको संङ्ख्या घट्दै गएको पाइएको हो।

आ.व. ०७६/०७७ मा ३३ जनामा, आ.व. ०७७/७८ मा १८ जनामा, आ.व. ७८/७९ मा ३ जनामा र यस आ.व.को गत ६ महिनामा २ जनामा दादुरा देखा परेको छ । हालसम्ममा सबैभन्दा बढी मकवानपुरगढी गाउँपालिकामा दादुराको संक्रमित देखा परेको पाइएको छ । जहा आ.व. ०७६/७७ देखि हालसम्ममा १३ जनामा देखा परेको हाे । 


त्यस्तै भिमफेदी गाउँपालिकामा आ.व. ०७६/७७ मा ११ जनामा र ०७७/७८ मा १ जनामा देखा परेकोमा त्यसपछिका समयमा शून्य अवस्थामा रहेको पाइएको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले बताए । त्यस्तै कैलाश गाउँपालिकामा ०७६/७७ मा ८ जनामा देखा परेकोमा सो पश्चातका वर्षहरुमा शून्य रहेको पाइएको छ। उनकाअनुसार चालु आ.व. मा हेटौडा उपमहानगरपालिकामा १ जना र बकैया गापामा १ जना गरि २ जनामा देखा परेको छ।

दादुरा खोप बच्चा जन्मिएको ९ र १५ महिनाभित्रका बालबालिकामा २ पटक लगाइने गरिन्छ । जुन खोप गत वर्षहरुको तुलनामा हाल १०० प्रतिशत नै लगाइएको पाइएको जनस्वास्थ्य अधिकृत घिमिरेले बताए । दादुराको पहिलो खोप आ.व. ०७६/७७ मा ८१ प्रतिशत र दोस्रो खोप ७२ प्रतिशतमा लगाइएको, आव ०७७/०७८ मा पहिलो ८२ प्रतिशत र दोस्रो ८१ प्रतिशतमा लगाइएकोमा आ.व. ०७८/०७९ मा पहिलो मात्रा १०१ प्रतिशतमा लगाइएकोमा दोस्रो मात्रा १०० प्रतिशतलाई लगाइएको पाइएको उनले बताए ।

सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गरिसक्ने सरकारको लक्ष्य रहेको छ । स्वास्थ्य मन्त्रालयले ‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित राष्ट्रव्यापी रुपमा यो अभियान सुरु गरेको छ। सरकारी तथ्यांकअनुसार नेपालमा पूर्ण खोप नलगाउने २१ प्रतिशत रहेको पाइएको भए पनि मकवानपुरमा यस खोप पूर्ण रुपमा लगाएको पाइएको घिमिरेले बताए । बालबालिकालाई सही समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा यो संक्रमण नियन्त्रण आउने र भएकाले यसतर्फ सचेत बन्न स्वास्थ्यकर्मीहरूको सल्लाह छ ।


Author

थप समाचार
x