बागमती

प्लाष्टिकजन्य फूल हटाउन पोखरामा अनुगमन

धनबहादुर गुरुङ |
कात्तिक ६, २०७९ आइतबार २०:९ बजे

पोखरा- पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री/वितरणमा रोक्न अनुगमन गरेको छ ।

पोखरा महानगरपालिका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङ नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरूमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा प्लाष्टिकजन्य फूलगुच्छा, माला बिक्री/वितरण नगर्न व्यवासयीलाई अनुरोध गरेको छ ।


प्लाष्टिकको फूलमाला प्रयोगबारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएको संयोजक गुरुङले बताइन् । ‘प्रयोग नगर्ने भनेर सरकारले राजपत्रमा सूचना प्रकाशन गरेकाले यसको कार्यान्वयन गर्नुपर्छ भनेर अनुगमन गरेका हौं,’ उनले भनिन्, ‘विदेशबाट आयात हुने प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा समेत असर परेको छ । सुरुमा व्यवसायीले गुनासो गरेपनि पछि आफैँले हटाएर सहयोग गर्नुभयो ।’

चाडपर्वमा प्लाष्टिकजन्य फूलहरूको व्यापार बढी हुने भएकाले अनुगमन गरिएको उनको भनाइ थियो । अहिले सचेत मात्रै गराएपनि बिक्री/वितरण गरिएको भटिए १ लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको उनले बताइन् ।

वन तथा वातावरण मन्त्रालयले गत साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री/वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको थियो । चाडपर्व नजिँकिदा तिहार र छठजस्ता चाड पर्वहरूमा यस्ता प्लाष्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्न सबैलाई अनुरोध गरेको थियो ।

विभागले उक्त निर्णयविपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा(४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने समेत जनाएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिवप्रसाद गौतम, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष, पत्रकारहरुको सहभागितामा अनुगमन गरिएको हो ।

महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले सानोदेखि होलसेल पसलसम्म अनुगमन गरिएको बताए । प्लाष्टिकजन्य सामग्री नेपाल बाहिरबाट आयात हुने र अर्थतन्त्र बाहिरिने तथा मानव जीवनमा समेत नकरात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले जानकारी दिए । ‘प्लाष्टिकजन्य फूलमाला बिक्री/वितरणमा रोक लगाउँदा स्थानीय फूलले बजार पाउने र यसले वातावरणमा पार्ने नकारात्मक प्रभावलाई कम गर्छ,’ उनले भने । 


Author

थप समाचार
x