बागमती

सहिद स्मृति गोल्डकप : उपाधिका लागि आर्मी र विजय युथ भिड्ने

सरिता दाहाल |
जेठ २८, २०७९ शनिबार २०:४३ बजे

मकवानपुर । हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली विजय युथ क्लबसँग त्रिभुवन आर्मी भिड्ने भएको छ । साविक विजेता विभागीय टाेली त्रिभुवन आर्मी क्लब आज भएको सेमिफाइनलको बिजेता हुदै प्रवेश गरेको छ ।

क्यामरुनी क्लब एभेनिर एफसी डोउलालाई सडन डेथमा पराजित गर्दै आर्मी क्लब फाइनलमा प्रवेश गरेको हाे । खेलको ४९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा गोल खान पुगेको थियो । जिकाले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दा खेलकाे निर्धारित समय बराबरीमा सकिएकाे थियाे ।


रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको हो । टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर र दिनेश हेन्जनले गोल गर्न सफल भए । कमल बहादुर थापाको प्रहार पोलमा लाग्दै बाहिरिँदा सन्तोष केसीले गोल गर्न सकेनन् ।

टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा लम्बिएको थियो । सडन डेथमा आर्मीले एभेनिरलाई ११–१० ले पराजित गर्दै फाइनलमा स्थानीय टोली विजय युथ क्लबसँगको भेट पक्का गरेको हो । सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भएको थियो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा एभेनिरको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा आर्मी विजेता बन्दै फाइनलमा पुग्न सफल भयो ।

सडन डेथमा युद्ध शाही, विकेश कुथु, सुरज बस्नेत, विमल पाण्डेय र भरत खवासले गोल गर्दा जितेन्द्र कार्कीले गोल गन सकेनन् । त्यसपछिको टाइब्रेकरमा दीपक गुरुङ, दिनेश हेन्जन र सिमन्त थापाले गोल गर्न सफल भए । अब जेठ ३० गते साेमबार हुने फाइनलमा विजय युथ र आर्मी उपाधिकाे लागि भिड्ने छन् ।

विजय युथले शुक्रबार विभागीय टाेली नेपाल पुलिसलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेकाे थियाे । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । दोस्रो हुनेले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार ट्रफी प्राप्त गर्नेछ ।


Author

थप समाचार
x