बागमती

पहुँचको आधारमा विभूषण घोषणा गरिएको भन्दै प्रदेश सरकारको आलोचना

सरिता दाहाल |
जेठ १८, २०७९ बुधबार ११:१ बजे

मकवानपुर - बागमती प्रदेश सरकार घोषणा गरेको विभूषणको चर्को विरोध भइरहेको छ । पहुँच र राजनीतिक आस्थाको आधारमा विभिन्न व्यक्ति तथा संस्थालाई विभूषण वितरण गर्न लागिएको भन्दै विरोध भएको हो । 

संघीय सरकारले गर्दै आएको विभूषण वितरण कार्यक्रमको नक्कल गर्दै बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको सन्दर्भ पारेर विभूषण घोषणा गरेको थियो । प्रदेश सरकारले प्रदेशको विभिन्न  जिल्लाका विभिन्न क्षेत्रका व्यक्ति र संघसंस्थालाई विभूषण प्रदान गर्ने घोषणा गरेपनि पर्याप्त अध्ययन नभएको आरोप छ ।


प्रदेश सरकारले विभूषण प्रदान गर्नको लागि सार्वजनिक गरेको नामहरूमा मकवानपुर जिल्ला आसापासका व्यक्ति र संस्थालाई मात्रै उच्च प्राथमिकता दिएको देखिएको आरोप छ। जसले गर्दा प्रदेश सरकारले पहिलो पटक सुरु गरेको यो निर्णय विवादित भएको हो ।

प्रदेश सरकारले प्रदेशको सबै जिल्लालाई न्याय गर्न नसकेको  नेपाली कांग्रेसका सांसद न्हुच्छे नारायण श्रेष्ठले बताए । 'प्रदेश भरको चासो र चिन्तन नराख्ने भएपछि कसरी प्रदेश सरकार भन्ने भन्ने यो त जिल्ला विकास समितिको दाइ हो' उनले व्यङ्ग्य गरे ।

प्रदेश सरकारले केही विशिष्टबाहेक अन्य व्यक्तिलाई पहुँचको आधारमा विभूषण गर्न खोजेको भन्दै टिका-टिप्पणी भइरहेको छ । सरकारले सार्वजनिक गरेको व्यत्ति र संस्थाहरूको नाम लिस्ट हेर्दा एकाध व्यक्ति र संस्थाहरू बाहेकको सामाजिक योगदान नै छैन ।

प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुईत र राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसहित विभिन्न क्षेत्रका ३७ जना व्यक्ति तथा ७ वटा संस्थालाई विभिन्न विभूषण सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले २२ वटा खण्डमा विभिन्न पदकसहित सम्मान गरिने जनाएको छ । डा. रुइतलाई प्रदेश परोपकार सम्मानबाट सम्मान गर्न लागिएको छ भने डा. महावीर पुनलाई नवप्रवर्तन सम्मान प्रदान गरिने भएको छ ।

प्रदेश सरकारले प्रहरी सेवामा रहेका मकवानपुरका रोशन थापालाई शान्तिमाला, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा, माधव गौतम, बद्रीप्रसाद खतिवडालाई प्रदेश दीप सम्मान प्रदान गरिने भएको छ ।

पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, हेटौंडाकी इन्दिरा न्यौपानेलाई प्रदेश परोपकार सम्मान प्रदान गरिने भएको छ ।  यसैगरी मकवानपुरकै सञ्चारकर्मीहरू प्रताप विष्ट, कौशलराज पाण्डे र कृष्ण सारु मगरलाई प्रदेशदूत सम्मान प्रदान गरिने भएको छ भने मकवानपुरकै मूर्तिकार लक्ष्मण भुजेललाई कलाकीर्ति सम्मान प्रदान गरिने भएको छ ।

पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यलाई विकास सेवी सम्मान गरिने भएको छ । संस्थागतरूपमा ललितपुर महानगरपालिकालाई संस्कृतिदीप, भक्तपुर नगरपालिका, मेलम्ची नगरपालिकालाई विपद्सेवी सम्मान, चितवनको चितवन अर्गानिक मत्स्य फार्म प्रालिलाई सम्मान गरिने भएको छ ।

मकवानपुरकै  सिमलथली एग्रो फार्म÷ बाख्रा फर्मलाई कृषि किरण सम्मान, मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी प्रवद्र्धन सम्मान प्रदान गरिने निर्णय भएको छ ।

विभूषण प्रदान गर्ने कार्यविधि नै न्यायपूर्ण नबनेको कारण राजनीतिका रुपमा भागबण्डा गरेर पहुँचको आधारमा वितरण गर्न लागेपछि विरोध आएको हो ।

यद्यपि प्रदेश सरकारले सार्वजनिक गरेको नामका व्यक्ति तथा संस्थाहरूको सामाजिक योगदान उल्लेख्य रहेको सरकारको दाबी छ । प्रदेश सरकारले १५ औं गणतन्त्र दिवसको दिन विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक गरे पनि वितरणको मिति भने सार्वजनिक गरेको छैन ।
 


Author

थप समाचार
x