बागमती

बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

सरिता दाहाल |
जेठ १६, २०७९ सोमबार १५:५४ बजे

मकवानपुर - बागमती प्रदशको नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश गरिएको छ । प्रदेशको प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्षको लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

स्वस्थ जीवनशैली प्रवर्द्धन, बागमती प्रदेशको अभियान भन्ने नाराको साथ शहरी र मानसिक स्वास्थ्य सेवा प्रवर्द्धन र व्यवहार परिवर्तन गर्न प्रवर्द्धनात्मक स्वास्थ्य कार्यक्रमलाई विस्तार गरिने, नसर्ने र मानसिक रोगको जोखिम र प्रकोप न्यूनीकरण गर्ने तर्फ जोड दिइने, बहुक्षेत्रीयपोषण कार्यक्रमलाई निरन्तरता दिइने, स्थानीय कृषि उपजबाट उत्पादन गरिएका प्राकृतिक पौष्टिक आहार वितरणमार्फत बालबालिका, गर्भवती महिला, किशोरी एवम् ज्येष्ठ नागरिकको पोषण स्वास्थ्यका लागि “जनता पोषण कार्यक्रम” सञ्चालन गरिने नीति लिइएको छ।


यसै गरी बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई प्रोत्साहन गरिने, माध्यामिक तहमा कृषि तथा पशु सेवासम्बन्धी विषयको अध्यापन गराउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गरिने, औपचारिक तथा अनौपचारिक पद्धतिबाट सिकेको प्राविधिक ज्ञान, सीप र दक्षताको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था मिलाइने, प्रत्येक व्यक्तिलाई आधारभूत स्तरको खानेपानी तथा सरसफाइको पहुँच पुर्‍याउन एकघर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा अभियानलाई अगाडि बढाइने पनि नीति लिइएको छ ।

स्थानीय तह एवम् निजी क्षेत्रको सह लगानीमा खानेपानी आयोजना एवम् महत्त्वपूर्ण सार्वजनिक स्थलमा सार्वजनिक शौचालय निर्माण गर्ने नीति लिइने प्रदेश प्रमुख शर्माले बताए ।

यसैगरी बागमती प्रदेश सरकारले प्रदेशमा एक वडा,एक पशु सेवा कार्यालय स्थापना गर्ने, छोरी–बुहारी छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिने, प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्नेदेखि बैज्ञानिक खोज अनुन्धान परिषद स्थापना गरिने जस्ता विभिन्न महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सरकारबाट प्रदान गरिने सेवालाई अपाङ्गमैत्री बनाइने, बालमैत्री स्थानीय तह घोषित स्थानीय तहलाई विशेष प्रोत्साहन गरिने, लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशीलता, कार्यस्थलमा हुने हिंसा निरुत्साहनको लागि विशेष कार्यक्रम गरिने सार्वजनिक गरिएको छ ।

प्रदेशलाई ५ वर्ष भित्र कृषिमा आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम ल्याईने, २० जनाभन्दा बढी वृद्धवृद्धा रहेको वृद्धाआश्रममा नर्सिङ सेवा उपलब्ध गराइने कार्यक्रम लिएको प्रदेश प्रमुख शर्माले बताए ।


Author

थप समाचार
x