बागमती

बागमती प्रदेश सभा: बैठक चलिरहँदा रित्तियो सदन

सरिता दाहाल |
जेठ १४, २०७९ शनिबार १५:३८ बजे

मकवानपुर- बागमती प्रदेशसभाको बैठक छाडेर सांसदहरु बाहिरिएपछि सदन रित्तिँदै गएको छ । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहेको अवस्थामा सांसद्हरु बाहिरिएका हुन् ।

विहान साढे ११ बजेदेखि सुरु भएको प्रदेशसभा बैठकबाट साढे ३ बजेसम्म आइपुग्दा लगभग आधाभन्दा बढी सांसद्हरु बाहिरिसकेका छन् । सदन छोड्नेहरुमा सत्तारुढ गठबन्धन दल र प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद्हरु रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बेन्च लगभग खाली भएको छ । सो बेन्चमा रहेका प्रतिपक्षी दलमध्ये विवेकशील साझा पार्टीका रमेश पौड्यालमात्रै देखिएका छन् ।


त्यसपछिका कुर्सीहरुमा एमालेका सांसद्हरु संख्या शून्य अवस्थामा छ । विवेकशीलका तीन जना सांसद् प्रतिपक्षीको बेन्चमा देखिएका छन् । यसैबीच बागमती प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठक ३० मिनेटको लागि स्थगित भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न बसेको बैठक उपसभामुख राधिका तामाङ्ले ३० मिनेटको लागि स्थगित गरेकी हुन् । बैठकमा हालसम्म २८ जना सांसद्हरुले सरकारले ल्याएको प्रि बजेटमाथि धारणा राखिसकेका छन् । ३० मिनेट पछि बैठक पुनः सुचारु हुनेछ ।


Author

थप समाचार
x