मधेश

जानकी मन्दिरको विद्युतीकरणमा व्यापक अनियमितता

छानबिन समिति गठन

सुवास कर्ण |
भदौ ५, २०७८ शनिबार १९:५९ बजे

फाइल फोटो

जनकपुरधाम : प्रसिद्ध जनकपुरधामस्थित जानकी मन्दिरमा विद्यूतीकरणको नाममा व्यापक अनियमितता भएको पाइएको छ । करोडाँै रुपैया लगानी गरेर विद्युतीकरण गरिएपनि मन्दिरमा बत्ती नबलेपछि चौतर्फी  आलोचनापछि अनियमितता भएको कुरा बाहिरिएको छ ।

प्रदेश २ सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमा करिब पौने १२ करोडको लागतमा वृह्त्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा विद्युतीकरण गरिएको एक वर्ष बितिसक्दा पनि विद्युत प्राधिकरणको मन्दिरमाथि एक करोडभन्दा बढी रकम बक्यौता रहेको कारण सञ्चालनमा आउन सकेन ।


मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा वृहत्तर जनकपुर क्षेत्र विकस परिषदलाई विभिन्न मन्दिरमा बती जडान गर्न १२ करोड रुपैया बजेट उपलब्ध गराएको थियो । सो बजेटमा जानकी मन्दिर, लक्ष्मण मन्दिर, विवाह मण्डप, राम मन्दिर, गंगा सागर पोखरी, स्वर्गद्वारी र बारास्थित गढीमाई मन्दिरमा विद्युतीकरण गर्न भनिएको थियो ।

तर बजेट अपुग भएको भन्दै जानकी मन्दिर, लक्ष्मण मन्दिर र विवाह मण्डपमा मात्र विद्युतीकरण गरियो । तर त्यो पनि जानकी मन्दिरमाथि एक करोड रुपैयाँभन्दा बढी रकम बक्यौता कारण सञ्चालन नभई एक वर्षदेखि त्यसै थन्किएको छ ।

परिषदका निर्देशक बलराम ठाकुरले भने, ‘विभिन्न मन्दिरमा विद्युतिकरण गर्ने भनेका थियौँ । तर रकम अपुग भएको मन्त्रालयलाई जानकारी गराएर हामीले जानकी मन्दिर, विवाह मण्डप र लक्ष्मण मन्दिरमा मात्र विद्युतिकरण गरयौ । सो विद्युत संचालनका लागि थ्री फेज लाईनको आवश्यकता भएको कारण हामीले प्राद्यिकरणलाई पत्राचार गरेपछि मन्दिरमाथि एक करोडभन्दा बढी रकम बक्यौता रहेको जानकारी गराएपछि थ्री फेज लाईनको आभाव संचालन हुन सकेको छैन ।’

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष बलराम ठाकुर र लेखापाल सावित्री कुमारी गिरीले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी प्राद्यिकरणको बक्यौता रहेको रकमको कारण जडान गरिएका बत्ती संचालन गर्न नसकिएको भन्दै सोलार मार्फत चलाउने व्यवस्थापन भइरहेको बताएका छन् ।

मन्त्रालयद्वारा १२ करोड रुपैया निकासा गरिएपनि कुल ११ करोड ७४ लाख रुपैयाको लागतमा ४४७ वटा चिम, सेक्युरिटी मेटल डिटेक्टर ४३ थान, सोलार स्ट्रीट लाईट १६ थान, स्ट्रीट लाइट ४८, स्पीकर ७४, ३० केभीएको स्टेपलाइजर र यूपीएस लगायतका सामाग्री मात्र जडान गरिएको वृहत्तरले दाबी गरेका छन । तर स्थानीय युवाहरुले वृहत्तरले दाबी गरेको संख्यामा विद्युतिय सामाग्री जडान नगरिएको आरोप लगाएका छन ।

युवा संघका सरोज मिश्रले मन्त्रालयले भने अनुरुपको मन्दिरहरुमा विद्युतिकरण नगरी जानकी मन्दिर, लक्ष्मण मन्दिर र विवाह मण्डपमा मात्र बांकी रकम भ्रष्टाचार गरेको आरोप लगाए । उनले वृहतरले जति सामाग्री जडान गरिएको दाबी गरेका त्यति सामानहरु नभएको बताए ।

परिषद्ले मन्दिरमा गरेको विद्युतिकरण बारे मन्दिरका व्यवस्थापक र वृहत्तरका अध्यक्ष समेत अनभिज्ञ छन । मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भने, ‘कसको बजेटमा कसले निर्माण विद्यूतिकरण गरेको हो, आफूलाई थाहा छैन ।’

उनले वृहत्तरले मन्दिर व्यवस्थापकसँग कुनै स्वीकृति नै नलिई प्रदेश सरकारको धौंस देखाएर आफू अनुकुल मन्दिरको भित्ताहरुमा तोडफोड गरी विद्युतिकरण गरेको आरोप लगाए । विश्व सम्पदा सूचीमा सूचीकृतका लागि तयारी अवस्थामा रहेको अवस्थामा पुरातत्व विभाग समेत कुनै जानकारी नगराई मन्दिरका पर्खालहरुमा वृहत्तरले केरकार गरेका छन ।

उता वृहत्तरका अध्यक्ष शालीग्राम सिंहले भने निर्देशक ठाकुरले आफूसँग कुनै छलफल नै नगरी मनपरी रुपमा मन्दिरमा विद्युतिकरण गरेको आरोप लगाए । उनले भने शुरुमा मन्दिरमा विद्युतिकरणका लागि बजेट आएको भनी मौखिक रुपमा जानकारी गरायौं, मैले पनि ई बिडिङ्गबाट प्रक्रिया बढाउन भनेको थिए । तर त्यसपछि के कसरी र कहाँ कहाँ काम गरियो कुनै छलफल नै नगरी निर्देशक ठाकुर र लेखापाल सावित्री गिरीले मनपरी काम गरेका हुन ।

यसअघि एनआईआरको एक संस्थाले एक करोडको लागतमा विद्यूतिकरण गर्ने भनेपनि विश्व सम्पदा सूची हेर्ने निकाय पुरातत्व विभागले मन्दिरको सौन्दर्यतामा असर पर्ने भनी रोकि दिएका थिए । तर अहिले कुनै मापदण्ड नै नपुरा गरी मनपरी रुपमा प्रदेश सरकारको धाक देखाएर मन्दिरलाई नै ध्वस्त पार्ने गरी विद्युतिकरण गरेको आरोप स्थानीय युवा शुशील कर्णले आरोप लगाए ।

मन्दिरको विद्युतीकरणमा अनियमितता भएको चौतर्फी आलोचना हुन थालेपछि प्रदेश सरकारले मुख्यन्यायधिवक्ता दिपेन्द्र झाको संयोजकत्वमा तीन सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरिएको छ । तर समिति गठन भएको एक साता बितिसक्दा पनि हालसम्म कुनै प्रक्रिया अघि बढाइएको छैन ।

गत साउन २८ गते नै छानबिन समिति गठन भएपनि संयोजक दिपेन्द्र झा अनविज्ञ छन् । के कस्ता विषयमा छानबिन गर्ने जिज्ञासामा ईकागजसँग संयोजक झाले भने, ‘आफू काठमाडौ रहेकै बेला आफ्नो नेतृत्वमा छानबिन समिति गठन गरेपनि यसलाई धेरै कुरा थाहा छैन । तर पत्र त प्राप्त गरेको छु । तर गर्नु के के छ ? भन्नेबारे केही नखुलाइएको कारण छानबिन समितिले गर्ने के हो ? त्यो बारेमा मलाई  थाहा छैन ।’ जनकपुर गएपछि मुख्यमन्त्रीज्युसंग छलफल गरेर दिएको माइन्डेट अनुसार अघि बढ्ने उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा गठित सो छानबिन समितिले जानकी मन्दिरमा विद्युतीकरणको लागि कसले कुन निकाय मार्फत बजेट माग गरेको, बजेटको स्वीकृती र कार्यक्रम कहिले तयार भएको, प्राविधिक प्रतिवेदन कसले दिएको, त्यसका लागि बजेट कहाँबाट आएको, टेण्डर प्रक्रिया कसरी बढाइएको, त्यसमा उल्लेखित स्पेसिफिकेशन (मापदण्ड) विशेष प्रकारको रहेको नरहेको बारे छलफल, परामर्श गरेर सत्यतथ्य बुझ्नेछ । 


Author

थप समाचार
x