मधेश

कोरोनालाई चुनौती दिदैं पार्टी प्रवेश अभियान

सुवास कर्ण |
कात्तिक १, २०७७ शनिबार १३:२८ बजे

जनकपुरधामः कोरोना महामारीबाट सर्वसाधारणलाई बचाउन सरकारले विभिन्‍न सार्वजनिक कामसहित भगवानको पूजापाठमा समेत बन्देज लगाइरहेका बेला मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी प्रवेशको अभियान नै चलाएको छ । स्थानीय प्रशासनको निर्देशनलाई लत्याउंदै जसपा नेपालले धनुषासहित प्रदेश २ का विभिन्न जिल्लामा पार्टी प्रवेशको अभियान नै चलाएको छ ।

यसैक्रममा शुक्रवार जसपा नेपालले कोरोना भाइरस महामारीको मुखमा सर्वसाधारणलाई धकेल्दै हजारौको सहभागितामा धनुषाको सबैला पार्टी प्रवेश कार्यक्रम आयोजना गर्‍यो । प्रदेश २ सरकारले समेत सार्वजनिक कार्यक्रम नगर्न/गराउन पटक निर्देशन जारी गरिरहेको बेला मुख्यमन्त्री लालबाबु राउत र सरकारका अन्य मन्त्रीहरुकै उपस्थितिमा सत्तारुढ दल जसपा नेपालनै जनताको स्वास्थ्यसँग खेलवाड गर्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो ।


कोरोना भाइरसलाई मध्यनजर गर्दै गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई हिन्दुहरुको महापर्व विजयादशमीमा विभिन्न शक्तिपिठ तथा मठमन्दिरमा हुने बोकाबली र भीडभाड हुने सहितका पुजापाठमा रोक लगाउंदै नित्य पूजा मात्र गर्न निर्देशन दिएको थियो ।

आम जनतालाई कोरोना भाइरसबाट जोगाउन राजधानी काठमाडौ सहित केही जिल्लाका विभिन्न स्थान र कार्यालयहरुमा विभिन्‍न सेवाहरूसमेत बन्द गरिएको छ । तर धनुषामा हजारौको भीड गराई यसलाई बेवास्ता गरिएको छ । पार्टी प्रवेशमा हजारौको भीड हुँदा पनि स्थानीय प्रशासनले कुनै रोकटोक नगरी बरू सुरक्षा नै प्रदान गरेको छ ।

पार्टी प्रवेश कार्यक्रमबारे प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईसँग जिज्ञासा राख्दा उनले अनभिज्ञता प्रकट गर्दै भने, ‘कहाँ पार्टी प्रवेश कार्यक्रम भइरहेको छ, आफूलाई थाहा छैन, यदि त्यस्तो कही भइरहेको भने जानकारी गराउनुस रोक्न लगाउँछु ।’

नेपाल सरकारको निर्देशनलाई लत्याउंदै कोरोना भाइरस मापदण्डविपरीत हजारौ संख्यामा भीडभाड गराई पार्टी प्रवेश कार्यक्रमले सहभागी जनतामा पर्न सक्ने प्रभावबारे पार्टी नेतृत्वकर्ताहरुले पटक-पटक सम्पर्क गर्न खोज्दा फोन उठाएनन । स्थानीय नेताहरुले बजार खुल्ला भएमा कोरोना लाग्दैन पार्टी प्रवेशले कोरोना लाग्छन भनी प्रतिक्रिया दिएर पन्छिन खोजे ।

पार्टी प्रवेश कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नबल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नरेश राय, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, संघिय सांसद अनिल कुमार झा, उमाशंकर अरगरिया लगायतका दर्जनौ प्रदेश सांसद र नेताहरुको  सहभागिता थियो ।
 


Author

थप समाचार
x