मधेश

रेखादेवी हत्या प्रकरण : श्रीमान् र जेठाजु पक्राउ

इकागज |
बैशाख १०, २०८१ सोमबार १०:५५ बजे

गोदार (धनुषा)- धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवै जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । 
 
गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो । श्रीमान्‌ले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक अवालेले बताए । 


'घटनापछि दुवै दाजु–भाइ भारतमा काम गर्न गएको खुलेको छ', उनले भने । दुवै जना गत वर्ष कात्तिक ३० गते घर फर्किएका थिए । दाजुभाइले खाल्डोबाट शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ ।  

हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताए । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उनले बताए ।

प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ । शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस


Author

थप समाचार
x