मधेश

खाल्डोबाट निकालियो बालकको शव, हत्या आशंकामा बुवाआमा प्रहरी नियन्त्रणमा

इकागज |
फागुन २५, २०८० शुक्रबार १३:४० बजे

सांकेतिक तस्बिर

वीरगञ्‍ज- वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा-आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शव निकालेर प्रहरीले ति बालकका बाबा-आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका- १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सवितालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


वीरगञ्ज महानगरपालिका- १३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलिप मण्डल धानुकको शव निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । थापाका अनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शब गाडेको हुँदा घटना शंकास्पद देखिएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुक्त टोलीले आर्यघाटबाट शव निकालेको थापाले बताए ।

आमा–बुबाले बिहीबार घरकै एक कोठामा दिलिपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताएका छन् । प्रहरी नायब उपरीक्षक थापाका अनुसार कामबाट बिहीबार साँझ घर फर्किँदा दिलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्वीकार गरेका छन् ।

दिलिप लागूपदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइललगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफुहरू कामका लागि बाहिर जाँदा दिलिपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलिपले प्रहरीसमक्ष बयान दिएका छन् ।

दिलिपको शवलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।


Author

थप समाचार
x