मधेश

मधेस प्रदेश सरकार गठन भएको ६ वर्ष : प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या

इकागज |
मंसिर १६, २०८० शनिवार ७:१ बजे

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक कार्यालय भवनको शुक्रबार शिलान्यास कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन भएको छ वर्ष बित्दा पनि प्रहरी प्रदेश सरकारको मातहतमा आउन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् ।


नेपाल प्रहरीलाई प्रदेश सरकार मातहतमा ल्याउन सङ्घर्ष जारी रहेको उनले बताए । उनले कसैको सिफारिस विना पीडितले न्याय पाओस् भन्ने किसिमले प्रदेशमा काम गर्नका लागि प्रहरी अधिकारीलाई आग्रह गरे । प्रदेशको आठ वटै जिल्लाको सदरमुकाममा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सिसिटिभी जडान गरिने उनको भनाइ छ ।

उनले अहिले पनि प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मधेस प्रदेश प्रहरीलाई सहयोग गरिरहेको भन्दै प्रहरी प्रदेश सरकारको मातहतमा आएपछि मधेस सरकारको प्रहरी सबैभन्दा सबल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले मधेस प्रदेश प्रहरीको समस्या प्रदेश सरकारको समस्या भएको भन्दै शान्ति सुरक्षा सुदृढ पार्न विगत झै आगामी दिनमा पनि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेकपा (एमाले) संसदीय दलका उपनेता एवं प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले प्रदेश सरकारको धेरैजसो बजेट त्यतिकै फ्रिज हुने गरेको भन्दै त्यस्ता बजेटलाई प्रशासनिक पूर्वाधार निर्माणमा खर्चिन सल्लाह दिए । मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले भाडाको घरमा अहिले कार्यालय सञ्चालन भइरहेको भन्दै निर्माण हुने उक्त प्रशासनिक कार्यालय भवनले कामकाज गर्नमा सहजता हुने धारणा राखे ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रमणि पाण्डे, सशस्त्र प्रहरी बल नेपाल २ नं. छिन्नमस्ता बाहिनी बर्दिवासका सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र साह, वरिष्ठ प्रहरी उपरीक्षक प्रवीण पोखरेलसहित उच्च सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

रु २३ करोड १० लाख ४३ हजारको लागतमा निर्माण हुन लागेको उक्त प्रशासनिक कार्यालय भवनको निर्माण शिवालय सुवेदी जेभी काभ्रेले १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । रासस


Author

थप समाचार
x