मधेश

धनुषामा जनप्रतिनिधि विवाद : दसैँतिहारमा पनि कर्मचारीले तलब पाएनन्

सुभाष कर्ण |
कात्तिक २३, २०८० बिहीबार २०:२ बजे

जनकपुरधाम- जनप्रतिनिधिबीचको विवादका कारण धनुषाका एक हजारभन्दा बढी कर्मचारीहरू नेपालीहरूको महापर्व दसैँ, तिहार र छठ जस्ता पर्वमा पनि तलब पाउन सकेका छैनन् । धनुषा जिल्लाका औरही गाउँपालिका, कमला नगरपालिका, मिथिला बिहारी नगरपालिका, जनकनन्दिनी गाउँपालिका र सबैला नगरपालिकाका कर्मचारीहरू चालु आर्थिक वर्षको असोज महिनासम्मको तलब पाउन नसकेका हुन् ।

पालिकाका प्रमुख र उपप्रमुखबीचको विवादका कारण केही गाउँपालिकाका नगरसभा हुन सकेकाे छैन भने नगरसभा भए पनि बहुमत अभावमा बजेट पारित भएको छैन । केहीमा सबै कुरा भए पनि खाता खुल्न नसक्दा पालिका अस्तव्यस्त भएपछि कर्मचारीहरू तलबबाट वञ्चित हुन पुगेकाे बताइएकाे छ । 


औरही गाउँपालिकामा ​नेकपा एमालेबाट निर्वाचित प्रमुख र उपप्रमुख छन् । बहुमत कांग्रेससँग रहेको छ । मेयर र उपमेयरले एक प्रकारको बजेट ल्याउँदा बहुमत वडाध्यक्ष र सदस्यहरूले विरोध नगरसभा हुन नसक्दा खाता सञ्चालन भएको छैन । ती पालिकाको दुई सयभन्दा बढी कर्मचारीहरू तलब सुविधा पाउन सकेका छैनन् । औरही गाउँपालिकाका प्रमुख उमाशंकरप्रसाद साहले नगरसभा कहिले हुने त्यो आफूलाई थाहा नरहेको बताए । 

धनुषाको कमला नगरपालिकाले पनि खाता सञ्चालन गर्न सकेको छैन । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नरहेको र छिट्टै आउने सूचना अधिकारी वीरेन्द्रकुमार सधानले बताए । यहाँ पनि मेयर र उपमेयरबीच विवाद छ । यहाँ मेयर र उपमेयरमा विवाद रहेकै कारण कर्मचारी नटिक्ने समस्या यथावत् छ । मेयर विशेश्वर यादव र उपमेयर शीला देवी मण्डलबीचको आन्तरिक कलहका कारण नगरपालिकाका दुई सयभन्दा बढी कर्मचारीहरूले चालु आर्थिक वर्षदेखि तलब सुविधा पाएका छैनन् । 

मिथिला बिहारी नगरपालिकामा समेत मेयर र उपमेयरबीचको विवादका कारण नगरसभा हुन सकेको छैन । मेयर नेपाली कांग्रेसका र उपमेयर नेकपा (माओवादी केन्द्र) का छन् । नगरपालिकामा असार १० भित्र वडास्तरीय योजना नआएका कारण सभा गर्न नसकिएको मेयर राजेन्द्रप्रसाद यादवले बताए । उनले आफूले नगरस्तरीय बजेट छुट्याउँदा त्यसमा उपमेयरले विवाद गरेपछि नगरसभा हुन नसकेको बताए । त्यहाँ पनि दुई सयभन्दा बढी कर्मचारी तलबबाट वञ्चित भएका छन् । 

यस्तै जनकनन्दिनी गाउँपालिकामा पनि दुई सयको हाराहारीमा कर्मचारी रहेको सूचना अधिकृत ऋषिकेश यादवले बताए । ‘गाउँपालिकाको नगरसभा समयमै भए पनि लेखा अधिकृत नरहेको कारण समस्या आएको हो,’ उनले भने, लेखा अधिकृत आएपछि तलब खुवाउने छौं । सवैला नगरपालिकाले बजेट सुत्रमा हाल्न नसकेका कारण कर्मचारीहरूलाई तलब खुवाउन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेलले सोमबार बैठक गरेका छौं, छिट्टै बजेट सूत्रमा हालेर कर्मचारीहरूलाई तलब खुवाई योनजाहरू संचालनमा ल्याउनेछौं ।'

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नवराज नेपालले जिल्लाका १८ मध्ये १३ वटाको नगरसभा सम्पन्न भइ बजेट सूत्रमा हालिएको र पाँच वटा पालिका नगर सभा गर्न नसकेको लगायतका समस्या कारणले अहिलेसम्म सूत्रमा नआएको जानकारी दिए । जिल्लाका गणेशमान चारनाथ नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, धनौजी गाउँपालिका, हँसपुर नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, शहीदनगर नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका र विदेह नगरपालिकाको बजेट सूत्रमा आइसकेको उनले जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x