मधेश

मधेशमा आत्महत्याको घटना बढ्नु चिन्ताजनक : मन्त्री सिंह

सुभाष कर्ण |
भदौ २१, २०८० बिहीबार २२:१ बजे

जनकपुरधाम- मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशमा दिनानुदिन आत्महत्याका घटना बढ्दै जानु चिन्ताजनक अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आत्महत्या घटना नियन्त्रणका लागि प्रदेशका स्वास्थ्य मन्त्रालय जुटे पनि सबैको सहयोगको आवश्यकता रहेको उनले बताए ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रद्वारा जनकपुरधाममा आयोजित आत्महत्या रिपोर्टिङ सम्बन्धी पत्रकार कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् ।


मन्त्री सिंहले मधेशमा खासगरी पारिवारिक कलह, आर्थिक संकट सामाजिक समस्या, परीक्षामा असफलता, प्रेममा असफलताजस्ता कारणले मानसिक स्वास्थ्यमा परेको असरले आत्महत्याका घटना प्रदेशमा बढ्दै गएको र यसमा पत्रकारले कलम चलाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निमित्त निर्देशक शिला श्रेष्ठले नेपालमा हरेक दिन अनुमानित १९ जनाले आत्महत्या गर्ने गरेको र यो तथ्यांक देशकै लागि भयावहको अवस्था रहेको बताइन् । यसको नियन्त्रणका लागि संघीय सरकारले स्थानीय तहलाई बजेट समेत उपलब्ध गराउँदै आए पनि त्यसको प्रभाव नदेखिएको श्रेष्ठले भनिन् ।

कार्यक्रममा आत्महत्याका कारण मानसिक अस्वस्थता र आत्महत्या घटनामा कसरी रिपोर्टिङ गर्नेबारे प्रस्तुतीकरण गरिएको थियो । प्रस्तुतिमा उल्लेख गरिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मधेश प्रदेशमा ४२२ जना महिला, ४६५ जना पुरुष, १७५ जना बालिका र ५९ जना बालकले आत्महत्या गरेका हुन् ।

देशभर आत्महत्या बढी हुनेमा प्रदेशमध्ये मधेश प्रदेश दोश्रो स्थानमा रहेकाे छ । बढ्दै गएको आत्महत्या घटनाप्रति तीनै तहका सरकारले यसको नियन्त्रणका लागि गम्भीर हुन आवश्यक देखिएको छ ।

प्रत्येक वर्ष सात हजारको हाराहारीमा आत्महत्याबाट मान्छेको ज्यान जाने गरेको भन्दै निर्देशक श्रेष्ठले दिगो विकासका लक्ष्यअन्तर्गत सुस्वास्थ्यको लक्ष्य पनि पर्ने गरेकाले दिगो विकासका लक्ष्य प्राप्तिका लागि यसको नियन्त्रण गर्नु हामी सबैको साझा सरोकारको विषय भएको बताइन । कार्यक्रममा पत्रकारहरूलाई विभिन्न चार समूहमा विभाजन गरी आत्महत्याको समाचार सम्प्रेषण गर्दा के कस्ता कुरा राख्ने, के नराख्ने बारे कार्यशाला समेत गराइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष राजेशकुमार कर्ण, महासचिव केसी लामिछाने, धनुषा शाखाका उपाध्यक्ष अवधेश कामतसहित मधेश प्रदेशका ८ वटै जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x