मधेश

महेन्द्र यादवमाथिको आक्रमणविरुद्ध जनकपुरधाममा प्रदर्शन

सुभाष कर्ण |
भदौ २१, २०८० बिहीबार १८:५२ बजे

जनकपुरधाम- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि गरिएको संघातिक आक्रमणविरुद्ध जनकपुरधाममा चक्काजामसहित विरोध प्रदर्शन गरिएको छ । ​कांग्रेस निकट भ्रातृसंगठन नेपाल विद्यार्थी संघ र तरुण दलले बिहीबार जनकपुरधामस्थित रामानन्द चोकमा चक्का गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले दोषीमाथि तत्काल कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । 

प्रदर्शनमा सहभागी तरुण दल धनुषाका अध्यक्ष संजय कर्णले कांग्रेस नेता यादवमाथि लोकतन्त्र र संघीयता विरोधीले आक्रमण गरेका भन्दै आक्रमण गर्ने गिरोहलाई पहिचान गरी कारबाही गर्न माग गरे । उनले भने, 'मरिसकेका राजालाई पुनः फर्काउने योजना राजावादीहरूको कुनै पनि हालतमा साकार हुन सक्दैन ।'


राजतन्त्र फर्काउन सक्ने आश नदेखेपछि राजावादीहरूले लोकतन्त्र तथा संघीयतावादी नेताहरूलाई आक्रमण गर्न थालेको आरोप उनले लगाए ।

यस्तै प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघ धनुषाका अध्यक्ष सुजित यादवले कांग्रेस नेता यादवमाथि कारबाही गर्न सकिएन भनि गृहमन्त्रीलाई तत्काल राजीनामा दिनुपर्ने माग गरे । यादवले भने, 'हाम्रो प्रदर्शन दोषीमाथि कडाभन्दा कारबाही र देशको शान्ति सुरक्षामा असफल भएका गृहमन्त्रीको राजीनामा मागका लागि रहेको छ ।'

प्रदर्शनमा सहभागीहरूले राजसंस्था चाहिँदैन भन्दै रामानन्दचोकस्थित गाडीहरूलाई रोकेर प्रदर्शन गरेका थिए । उनीहरूले रामानन्दचोकमा एक घण्टा चक्काजाम समेत गरेका थिए । सोही क्रममा गरिब निमुखाहरूले चलाउने अटो रिक्सालाई उनीहरूले तोडफोड समेत गरेका छन् । प्रदर्शनको स्थानीयले समर्थन गरे पनि अटो रिक्सा लगायतमा गरिएको क्षतिको विरोध जनाएका छन् ।

बुधबार काठमाडौँस्थित भृकुटी मण्डप नजिक आफू राजावादी र राष्ट्रवादी हुँ भन्दै एक समूहले सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते यादवको काठमाडौँमै उपचार भइरहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x