मधेश

नागरिकता नियमावली अविलम्ब ल्याउन लोसपाको माग

सुभाष कर्ण |
भदौ १९, २०८० मंगलबार २१:२१ बजे

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नागरिकता नियमावली अविलम्ब ल्याउन माग गरेकाे छ । महोत्तरीको बर्दिबासमा सोमबार बसेको प्रदेशस्तरीय बैठकबाट लोसपाले यस्तो माग गरेकाे हाे ।

नागरिकता नियमावली अविलम्ब ल्याउन सरकारसँग माग गर्ने सहितका विभिन्न माग र पार्टी सुदृढीकरणबारे निर्णयहरू गरिएको लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले मंगलबार एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन् ।


अध्यक्ष सोनलले भने, 'नागरिकता ऐन आएपछि धेरै जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउनु खुशीको कुरा हो । तर, नियमावली अभावमा आमाको नामबाट नागरिकता पाउने अहिले पनि धेरै नै नेपाली नागरिक नागरिकताविहीन रहेका छन् । सरकारसँग अविलम्ब नियमावली ल्याउन माग हामीले गरेका छौं ।'

यसका साथै प्रहरी समायोजन/समन्वय ऐन प्रमाणीकरण भएपनि कार्यान्वयन नहुँदा प्रदेश सरकार कमजोर र लाचार देखिएर संघीयतामाथि नै प्रश्न चिह्न उब्जेकाले संविधानले सुनिश्चित गरेको सो ऐन कार्यान्वयनका लागि लोसपाको माग रहेको उनले बताए ।

यस्तै सुख्खा र बाढीबाट प्रताडित मधेशको समस्या समाधानका लागि स्थायी प्रकृतिको समाधान र चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित र अनियमित बसोबासको नियमन गरिनु पर्दछ यसका लागि तीनै तहको सरकार मिलेर चुरे र मधेश बचाउने अभियानमा लाग्नुपर्ने माग समेत गर्ने निर्णय गरिएको उनले जानकारी दिए । 

पिउने पानीको सतह दिनानुदिन घट्दै गएर मधेशमा शुद्ध खानेपानीको समस्या विकराल हुँदै गएकाले तत्काल समस्या समाधान गरी पानी सहज उपलब्धताका लागि तीनै तहको सरकार मिलेर समाधानको काम गर्न आवश्यक रहेको भन्दै उनले मिटर ब्याजसम्बन्धी कानुनका रूपमा नभई त्यस कानुनको आडमा भइरहेको अस्तव्यस्तता र प्रशासनिक हस्तक्षेपका कारण धेरै जनता पीडित भइरहेकाले विधि र कानुन अनुसार नै कुनै पनि कानुन कार्यान्वयन गर्नुपर्ने माग गरे ।

आम निर्वाचनपछि सुस्तजस्तै देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वडाको बुथ समितिसम्म पुग्ने तयारीमा जुटेको जानकारी पनि उनले दिए । सोनलले भने, 'पार्टी संगठनको समीक्षा र सुधार आर स्क्वायर तथा आरआर अभियान अन्तर्गत प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडाको बुथ समितिसम्म पुग्ने अभियान थाल्ने निर्णय गरिएको हो ।'

पार्टीका नेताहरू पालिका त्यसको वडा र वडाको बुथ समिति सम्म भ्रमण गर्ने र जिल्ला, निर्वाचन क्षेत्र तथा पालिका स्तरको बैठक बसेर संगठनको समीक्षा तथा सुधारका विषयमा गहन छलफल गर्न लागेको सोनलले बताए ।

पार्टी चलाउन उमेरले फरक पार्दैन, पार्टी अध्यक्ष ठाकुरको मधेश प्रतिको दृष्टिकोण, उर्जा र क्षमतामा कमी नदेखिएकाले ठाकुरकै नेतृत्वमा पार्टी सशक्त रूपमा अगाडि बढ्ने बताउँदै सोनलले प्रदेशको विस्तारित बैठकबाट केन्द्रीय समिति शिघ्र विस्तार गर्ने निर्णयमा पुगेको जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x