मधेश

मधेशमा क्रिकेटको क्रेज : कतै बिदा त कोहीले गरे पुरस्कार घोषणा

सुभाष कर्ण |
भदौ १८, २०८० सोमबार २२:६ बजे

जनकपुरधाम- मधेश प्रदेशमा क्रिकेटको क्रेज बढ्दै गएको छ । जारी एसीसी प्रतियोगिता अन्तर्गत सोमबार भारतविरुद्ध नेपालको भएको खेलका लागि मधेशका केही स्थानीय तहले बिदा दिएका छन् भने केहीले पुरस्कार घोषणा गरेका छन् । 

सोमबार दिउँसो २ बजेदेखि जनकपुरधाम उपमहानगरपालिका, पर्साका वीरगञ्ज महानगरपालिका र रौतहटको गौर नगरपालिकाले क्रिकेट हेर्न अत्यावश्यक काम बाहेक विद्यालयहरूमा विदाको घोषणा गरेका थिए ।


क्रिकेट हेर्नकै लागि उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै आज २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी थिइन् ।

‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारतसंग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ' भन्ने कुरा सूचनामा उल्लेख छ । उपमहानगरले यसअघि नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले आधा दिन विद्यालयहरूमा बिदा दिएको थियो ।

यस्तै वीरगञ्ज महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरू बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने सूचना महानगरका अधिकृत हरि राउतले जारी गरेका हुन् । सूचनामा भनिएको छ, ‘क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाली क्रिकेट टोलीको हौसला बढाउन २ बजेदेखि अत्यावश्यक सेवाहरू वाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिनेछ । रौतहटको गौर नगरपालिकाले पनि २ बजेदेखि सबै विद्यालय बिदा दिएको छ ।'

यता धनुषाका शहीद नगरपालिका  र जनकनन्दिनी गाउँपालिकाले राम्रो प्रदर्शन गर्ने नेपालका खेलाडीको मनोबल बढाउन पुरस्कार दिने घोषणा नै गरेका थिए । जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले एक विज्ञप्ति जारी गरी शतक बनाउनेलाई एकलाख, अर्ध शतक बनाउने र हयाट्रीक विकेट लिने खेलाडीलाई प्रति विकेट ५० हजारको दरले पुरस्कार दिने व्यक्तिगत रूपमा दिने घोषणा गरेका छन् । 

यस्तै शहीदनगरपालिकाका मेयर दिनेश यादवले अर्धशकत बनाउने आशिफ शेखलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा ५८ रनको लामो पारी खेलेर आशिफ सेखले मधेशको नाम गौरवान्वित गरेकोमा सो पुरस्कार दिने घोषणा गरेका हुन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x