मधेश

इटा उद्योग व्यवसायलाई सहयोग गर्नुपर्ने माग

सुभाष कर्ण |
भदौ १८, २०८० सोमबार २१:४१ बजे

जनकपुरधाम- इटा व्यवसायीहरूले इटा उद्योग बचाउन प्रदेश सरकारले आर्थिक सहयोग गर्नुपर्ने माग गरेका छन् । 

सोमबार नेपाल इटा उद्योग महासंघ मधेश प्रदेशको प्रथम अधिवेशन तथा साधारण सभामा बोल्ने इटा व्यवसायीहरूले देशकै बेरोजगारी समस्या समाधान गर्नमा अहम् भूमिका निर्वाह गर्ने इटा उद्योगलाई बचाउन प्रदेश सरकारले सहयोग गर्नुपर्ने गरे । उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारले हरेक विकास निर्माणमा इटा प्रयोगमा जोड दिनुपर्ने माग समेत गरे । कार्यक्रममा उपस्थित इटा व्यवसायीहरूले देशमा सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरू रहेको आरोप लगाए । 


कार्यक्रममा नेपाल इटा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शंकरबहादुर चन्दले भने, 'श्रमिकहरूको रोजगार बचाउन तथा उद्योगलाई जीवन्त हामीहरू सम्पति हालेर बैंकबाट कर्जा लिन्छौं । तर, सरकारले इजाजत नलिँदा हामीहरू सामान किन्न नसकेर व्यवसाय गर्न पाइरहेको छैनौं । यस्तो अवस्थामा सहुलियत दिनुपर्नेमा सामन्ती बैंकले २५ प्रतिशत ब्याज लिएर सम्पति लिलाम गर्ने धम्की गर्छन् ।' ब्याज तिर्न नसकेर इटा उद्योग व्यवसाय बच्नु त परै जाओस् उठीबासको अवस्था आइसकेको उनले दुखेसो पोखे । 

उनले भने, 'बैंकहरू भन्छन् घाटामा गइरहेको छ । तर, पछिल्लो असार मसान्तमा बैंकहरूले २५ प्रतिशतसम्म कमायो । सरकारले बैंकहरूलाई घाटाको नाममा विभिन्न सुविधा दिए तर देशकै बेरोजगारी समस्या समाधान गर्न आफू आफ्नो सम्पति राखेर लिएको कर्जामा मौसमी व्यवसायीका कारण ब्याज तिर्न नसक्दा घरमै आएर बैंकहरूले धम्की दिए पनि कुनै सहुलियत दिएको छैन ।'

कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल इटा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इटा उद्योग व्यवसाय धारासायी हुँदै जानुमा इटा उद्योग व्यवसायी आफैँ, सरकार र अस्वस्थ्य प्रतिष्पर्धासहितका प्रमुख तीन कारण रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले आफ्नो मन्त्रालयबाट हुने हरेक विकास निर्माणको कार्यमा इटाको प्रयोग बढीभन्दा गर्ने प्रतिबद्धता जनाए । साथै उनले सहुलियत कर्जा बारे संघ सरकार समक्ष कुरा राख्ने प्रतिबद्धतासमेत जनाए । 

नेपाल इटा उद्योग महासंघ मधेश प्रदेशका संयोजक विनय यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्थानीय तहको प्रमुख पदमा जितेका इटा उद्योगी व्यवसायीहरूलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । सो कार्यक्रममा प्रदेश भरिका इटा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x